रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले दूध बेच्ने किसानहरुका लागी दूधमा दिने भनिएको अनुदानको पहिलो चौमासिक रकम बितरण गरिएको छ । आज गाउँपालिकामा एक कार्यक्रम गरी ११ ओटा दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो ।
यो चौमासिकमा गाउँपालिका भित्रका किसानहरुले ३ लाख पैतिस हजार ८ सय ७६ लिटर दुध उत्पादन गरि बिक्री गरेको र उक्त परिमाणको दूधमा गाउँपालिकाले प्रतिलिटर ४ रुपैयाँका दरले १३ लाख ४३ हजार ५ सय ४ रुपैयाँ नगद अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । जसमध्ये महा लक्ष्मी दुग्घ उत्पादक सहकारी संस्थाले सबैभन्दा बढी ४६ हजार ६ सय १० लिटर दूध बापत् १ लाख ८५ हजार १ सय ६० रुपैयाँ अनुदान पाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले यसपटक एक चौमासिकमा करिव साँढे १३ लाख अनुदान दिएको र अर्को वर्षको चौमासिकमा करिव २० लाख अनुदान लिने गरी दूध उत्पादन गर्न किसानहरुलाई प्रोत्साहन गर्न दुग्ध उत्पादक सहकारी संस्थाका प्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकामा ७० प्रतिशत नागरिकहरु कृषि तथा पशुपालनमा संलग्न रहेको र यसबाट आर्थिक समृद्धिको लागी टेवा पुर्याइरहेकोले यसलाई बढाउन तथा किसानलाई काम गर्न हौसला पुर्याउनु गाउँपालिकाको दायित्व र जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले दुध उत्पादनमा पशु आहारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । जसका लागी गाउँपालिकाले उन्नत जातका घाँस उत्पादनमा किसानहरुले जोड दिनुपर्ने र त्यसका लागी गाउँपालिकाको सहयोग रहने शर्माको भनाई थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रमुख प्रशाशकिय अधिकृत राम प्रसाद शर्मा, लेखा शाखा प्रमुख भाष्कर पन्त, दुग्घ उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरू लगायतको सहगागिता रहेको थियो ।