प्रभातफेरी सहित मेलम्चीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची । 
“स्वच्छ उर्जा मार्फत उपभोक्ता सशक्तिकरण” भन्ने मुल नारा सहित मेलम्चीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगरपालिकाको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रभातफेरी गर्दै दिवस मनाएको हो । 

बस्तु/सेवाको कृत्रिम अभाव सिर्जना नगरौँ, ब्यसायीले मुल्यसुची अनिवार्य राखौँ, नवीकरणीय उर्जाको प्रयोग गरौँ, प्रदुषण रहित वातावरण बनाऔँ, मिति गुज्रेका सामान बिक्रि नगरौँ, गुणस्तरहिन बस्तुको बिक्रि वितरण नगरौँ, प्लाष्टिकजन्य झोला विस्तापन गरौँ, धुवारहित चुलोको प्रयोग गरौँ, स्वस्थ बनौँ लगायतका नारा लेखिएको प्लेकार्ड सहित मेलम्ची खानेपानी कार्यालयको गेट देखि बजार परिक्रमा गर्दै प्रभातफेरी गरिएको थियो । प्रभातफेरि समापन पश्चात् उपभोक्ता हित संरक्षण मञ्च नेपाल, मेलम्ची नगरपालिकाका अध्यक्ष शालिकराम अधिकारीको सभाध्यक्षतामा मेलम्ची नगरपालिकाको सभा हलमा औपचारिक कार्यक्रम गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले, संविधानले ब्यवस्था गरेको ३१ मौलिक हक मध्ये उपभोक्ता अधिकार पनि मौलिक हक अन्तर्गतनै पर्ने भएकोले यो एउटा मौलिक हक भएको बताउनुभयो । उपभोक्ता ठगिएमा, अखाद्य बस्तुको कारण उपभोक्ताको स्वास्थ्यमा असर परेमा उसले क्षतिपुर्ती पाउने कानुनमा ब्यबस्था रहेकोले सामान खरिद गर्दा हामीले मिति हेर्ने बानी बसाल्नुपर्ने उहाँको भनाई छ । 

संस्थाले बजार अनुगमन, स्वच्छ बस्तु उपलब्ध गराउन पहल गर्ने र मेलम्ची नगरपालिकालाई उपभोक्ता मैत्री नगरपालिका बनाउने लक्ष्य रहेको कार्यक्रमका सभाध्यक्ष तथा मेलम्ची नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च नेपाल अध्यक्ष शालिकराम अधिकारीको भनाई छ । प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार हुने र बस्तु वा सेवामा सहज पहुँचको अधिकार लगायत हुने भएकोले सामान गुणस्तरिय नभएका उपभोक्ताले बिक्रेतालाई फिर्ता गर्न सक्न उहाँले बताउनुभयो ।  उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उपभोक्ता ठगिएमा उजुरी गर्न सकिने अधिकारीले बताउनुभयो ।


हामी उपभोक्ताको रूपमा सचेत हुनुपर्ने बताउँदै मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले खानेकुरा बाटै रोग आउने भएकाले मिति गुज्रेका सामान नकिन्न आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष जगन्नाथ चालिसेले सामानको गुणस्तर मिति कहाँ हुन्छ र कसरी पत्ता लगाउने त्यसको बारेमा नगरपालिकाले उपभोक्तालाई सचेत गराउनुपर्ने बताउनुभयो । हरेक ब्यक्ति उपभोक्ता भएको र गैर ब्यबसायी आएर मेलम्चीमा ब्यबसाय गरेका कारण अखाद्य सामान धेरै भित्रिएको बताउँदै त्यसमा नगरपालिकाले अनुगमन र निरिक्षण गरेर उपभोक्तालाई सचेत गराउनु पर्ने उहाँको भनाई थियो । साथै उहाँले मेलम्ची बजारमा सवारी पार्कीङको ब्यबस्था नभएको गुनासो पनि गर्नुभयो । 

संघ संस्थाले औपचारिक कार्यक्रम यस्ता कार्यक्रमहरु गरिरहेको भए पनि नागरिक ठगिइरहने अवस्था रहेकोले उपभोक्ता आफै सचेत हुन जरूरी रहेको शैक्षिक अभियान्ता राधाकृष्ण श्रेष्ठले बताउनुभयो । एकदिन दिवस मनाएर हैन हरेक दिन उपभोक्तालाई सचेत गराएर मात्र उपभोक्ताको हकहित हुनसक्ने उहाँको भनाई छ । अहिलेका बाबालिकाहरु सानै देखि अखाध्य बस्तु खान बाध्य भएको भन्दै उनिहरुलाई अभिभावकले अखाद्य बस्तु उपभोग गर्न दिनु नहुने बताउनुभयो । 

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल मेलम्ची नगरपालिकाका अध्यक्ष शालिकराम अधिकारी, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, मेलम्ची ११ र ९ का वडा अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्विजिवि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply