सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन् ।
त्यसमध्य उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । टेन्ट हालेर चार परिवारलाई स्थानान्तरण गरिएको हो ।
बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय)ले जानकारी दिनुभयाे।
गापा, वडा, सुरक्षाकर्मी, स्थानीय जनताका सहभागितामा विस्थापित परिवारलाई उद्धार गरी टेन्ट निर्माण गरेर सारिएको हो ।
विस्थापित परिवारको त्यहाँ बाहेक अन्यत्र कत्तै जग्गाजमीन नभएकाले पाटेडाँडामा अरुको जग्गाको बाली काटेर टेन्ट हालेर सारिएको वडा अध्यक्ष गुभाजुले बताउनुभयाे। विस्थापित परिवारलाई हिउँदमा सुरक्षित स्थानमा जग्गा खरीद गरी गापा, वडाले स्थायी आवास निर्माण गरिदिने उहाँले बताउनुभयो । विस्थापित परिवारलाई चार वटा टेन्ट हालेर राखिएको छ ।
बाढीपहिरोबाट पिस्कर उच्च जोखिममा रहेको वडा हो । गत वर्ष पनि ठाडोखोलाको पहिरोले एक युवकको ज्यान गएको थियो ।