रेडियो मिसन, नवलपुर ।
कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कमलादेवी मा बि इन्द्रावती ६ मा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद आचार्यले वार्षिक लेखा तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
शेयर सदस्य ९४५ र बाल बचतकर्ता ३५३ गरी १२९८ कुल शेयर सदस्य रहेको सहकारीमा ३१४ जना ऋणी सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ । कुल शेयर पुजी ५६ लाख २२ हजार एक सय, कुल बचत निक्षेप २ करोड ३८ लाक ७३ हजार ८ सय ४१, सदस्यहरूमा लगानीमा रहिरहेको रकम ३ करोड ५६ लाख ९३ हजार ४ सय ६३, संस्थाको सञ्चित कोषहरूमा रहेको कुल रकम २५ लाख ६१ हजार ५ सय ५० रहेको संस्थामा ९९ लाख ४८ हजार ३ सय ९३ बाह्य कर्जा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले जुन उद्देश्यका लागि ऋण लिएको हो त्यसैमा लगानी गर्न ऋणीहरूलाई सुझाव दिनुभयो । साथै सहकारीको सिद्धान्तको आधारमा सहकारी सञ्चालन हुन पर्ने उहाँको भनाइ थियो । धेरैजसो किसानहरूबाट वन्यजन्तुले दुःख दिने गरेको गुनासो आउने गरेकाले यसको समाधानका लागी एग्री डाइरेक्ट संस्थासँग समन्वय गरी वैकल्पिक खेती प्रणाली अपनाउने बारे छलफल भएको जानकारी दिँदै जसका लागि वन्यजन्तुले दुःख नदिने खालका बालीनालीहरू लगाउन पर्ने बताउनुभयो । हावापानी र भौगोलिक अवस्था हेरेर बेसार, टिमुर र अकबरे खुर्सानी लगायतका नगदे बालीहरू लगाउन सक्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि गाउँपालिकाले बिउ बिरुवा लगायत खेतीका लागि अनुदानको व्यवस्था गर्ने सोचिरहेको बताउनुभयो । साथै कृषि सहकारीहरुलार्य मात्र सरकारले हेर्ने भएकोले कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि कृषि सहकारी संस्थामा रूपान्तरण हुन अनुरोध गर्नुभयो । कृषि सहकारीहरूलाई पालिकाले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । साथै गाउँपालिकाले बसाइँसराइलाई रोक्न र बसाईँसराइ गरेकाहरूलाई यही स्थानमा फर्काउनको लागि योजना बनाएर अघि बढेको बताउँदै यसका लागि गाउँमै उचित शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्न आवश्यक रहेकोले यस बारे चिन्तन मात्रै नभई यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे योजना बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका बिशेष अतिथी नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य चिरञ्जीवी आचार्यले विकासको गति सहकारीको हिसाबले अघि बढिरहेको बताउनुभयो । सरकारले सहकारी नियमनका लागी वैधानिकताका साथ आधिकारिक निकाय निर्माण गर्न नसकेकाले अहिले सहकारीमा समस्या आएको उहाँको भनाई छ । साथै सञ्चालकहरूले सहकारीको पैसा अपचलन गर्ने, जस्तै जग्गा, सेयर, हाइड्रोपावर लगायतमा लगानी गर्ने गरेकाले यो अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । सहकारीले शेयर सदस्यलाई आर्थिक उपार्जनमा जोड्नुपर्ने बताउँदै गाउँ गाउँमा छिरेका लघुबित्तहरु सँग भने सतर्क रहन सबैमा आग्रह गर्नुभयो । साथै अनुत्पादक क्षेत्रमा खर्च गर्न ऋण नलिन नदिन र गाउँ घरमा गरिने खर्चमा मितब्याइता अपनाउन सबैमा अनुरोध गर्नुभयो ।
वडा नं ७ का अध्यक्ष रवीन्द्र कुमार खातीले स्थानीय तह सहकारी मैत्री हुन र सहकारी पनि स्थानीय तहको सहयात्री हुन जरुरी रहेको बताउनुभयो । सहकारी र स्थानीय तह एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको संस्था भएको उहाँको भनाइ थियो । सहकारीले विकास साझेदारीमा भूमिका खेल्न पर्ने बताउँदै उद्देश्य र कार्यान्वयनलाई अध्ययन गरेर मात्रै ऋण दिन सहकारीहरुलाई आह्वान गर्नुभयो ।
वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले व्यवसाय गर्न इच्छुक हुने र व्यवसायका लागी सामान्य ज्ञान हुनेलाई मात्र ऋण दिन आह्वान गर्नुभयो । किसानहरुलाई सदस्य बनाएको सहकारीहरुले उनिहरुलाई व्यावसायिक बनाउन सक्यो कि सकेन लेखा जोखा गर्न पनि आग्रह गर्नुभयो । शेयर सदस्यको उन्नति प्रगति भयो कि भएन यसले सहकारीको सफलताको मापन गर्न सकिने उहाँको भनाइ थियो । शेयर सदस्य व्यवसायी बन्न सके मात्रै सहकारीको प्रगति भएको मान्न सकिने उहाँको धारणा थियो ।
इन्द्रावती साना किसान सहकारीका अध्यक्ष रामशरण गिरीले होडबाजीको हिसाबले देखाउनका लागि दर्ता भएका सहकारीहरुले काम गर्न नसक्ने बताउनुभयो । हालसम्म गाउँपालिकामा ७१ वटा सहकारी दर्ता भएकोमा २० देखि २२ वटा मात्रै सक्रिय रहेको बताउँदै सहकारीलाई ऊर्जाशील बनाउन सिद्धान्तमा चल्न आवश्यक रहेको उहाँको भनाई थियो । सहकारी अभियन्ता समेत रहनुभएका गिरीले सहकारी एक अबिछिन्न स्वायत्त संस्था रहेको बताउँदै प्रतिस्पर्धाको भावनालाई त्यागेर एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दै अघि बढ्न पर्ने बताउनुभयो ।
नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी देवी कोइरालाले सहकारीलाई आफ्नै संस्था हो भन्ने सम्झेर कारोबार गरेमा सबैलाई फाइदा हुने बताउनुभयो । सहकारीको प्रगति सँगसँगै सेयर सदस्यको उन्नति हुने उहाँको भनाई थियो ।
सहकारीका अध्यक्ष बुद्धि प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापक बिष्णुमणी नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै सचिव नेत्र आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिल कुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरी, कार्यपालिका सदस्य तिलक रोक्का लगायत निर्वाचित जनप्रतिनिधीहरु, विभिन्न सहकारीहरूका प्रतिनिधिहरू विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, शेयर सदस्यहरू गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी, बिशेष अतिथी र अतिथीलाई मायाको चिनो र कप तथा उपस्थित शेयर सदस्य लगायत सबैलाई मायाको चिनो स्वरुप आकर्षक कप प्रदान गरिएको थियो ।