सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक स्थापना

* # समाचार समाज सिन्धुपाल्चोक

सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ ।

हुलाक कार्यालय,त्रिपुरासुन्दरी गाउँपालिका, तौथलिमा बिहिबार पालिका हुलाक कार्यालय स्थापनासँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक स्थापना गर्ने कार्य सम्पन्न गरिएको छ ।

१२ पालिका रहेको सिन्धुपाल्चोकमा एक जिल्ला हुलाक अन्तर्गत साविकमा १३ वटा इलाका हुलाक कार्यालय रहेकोमा तीन इलाका हुलाक हटाइएको हो भने एक थपिएको छ । पालिकामा रहेका इलाका हुलाक कार्यालयलाई हाल पालिका हुलाक कार्यालय रुपान्तरण गरिएको हो ।

प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएको इन्द्रावती गाउँपालिकाको भोटसिपा, हेलम्बु गाउँपालिकाको दुबाचौर र बलेफि गाउँपालिकाको जल्विरे ईलाका हुलाक कार्यालय हटाइएको छ । हुलाक कार्यालय नभएको त्रिपुरासुन्दरी गाउँपालिकामा एक हुलाक कार्यालय थप गरि पालिकामा हुलाक सेवा विस्तार गरिएको छ ।
जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकका हुलाक अधिकृत ओम प्रसाद आचार्यले एउटा पनि हुलाक कार्यालय नभएको त्रिपुरासुन्दरी गाउँपालिकामा समेत भव्य कार्यक्रम सहित कार्यालय स्थापना गरी सेवा विस्तार गरेसँगै सबै पालिकामा पालिकास्तरको स्थानीय हुलाक कार्यालय स्थापना कार्य सम्पन्न भएको बताउनुभयो ।

यहाँका १२ वटा पालिकामा एक–एक वटा इलाका हुलाक कार्यालय रहेकाले सोही कार्यालयलाई पालिकास्तरीय कार्यालय बनाइएको हो । यहाँ ११ वटा पालिका स्तरको कार्यालयसँगै १ वटा हुलाक काउण्टर र अन्य ४९ वटा अतिरिक्त हुलाक कार्यालय भने जिल्ला हुलाक कार्यालय अन्तर्गत रहेका छन् ।

अतिरिक्त हुलाकमा कम्तीमा एक जनादेखि तीन जनासम्म कर्मचारी रहेको र अहिले १०१ जना कर्मचारी रहेका छन् । नेपाल सरकारको नीतिअनुसार अतिरिक्त हुलाक नियमावलीसंशोधन गरि उमेर हद ५८ वर्ष कायम गरेपछि उमेर हद पूरा भएका कर्मचारीको अनिवार्य अवकाश पछि कार्यालयमा कर्मचारीविहीन भइ १६ वटा अतिरिक्त हुलाक कार्यालय स्वत खारेजिमा परेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

Leave a Reply