नवलपुर ।
इन्द्रावती गाउँपालिका र प्रभावितबीच सहमति भएको छ । जति सक्दो चाँडो एम्बुलेन्स चालक नियुक्ति गर्ने, भोलिबाट एम्बुलेन्स निरन्तर सञ्चालन गर्ने, घाइतेको उपचारमा गाउँपालिकाले सहयोग गर्ने, घाइतेको बालबच्चालाई पठनपाठनमा सहयोग गर्ने जस्ता कुराहरूमा गाउँपालिकाले प्रतिवद्धता जनाएको गाउँपालिकाका प्रेस सल्लाहकार सुनिल तामाङले बताउनुभयो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा आफ्नै आमाले छोरालाई खुकुरी प्रहार गरेको घटना पश्चात गाउँपालिकामा प्रदर्शन भएको थियो ।
एम्बुलेन्स चालक नभएको भन्दै इन्द्रावती गाउँपालिका ५ वासीले प्रदर्शन गरेका थिए । मङ्गलवार राती इन्द्रावती ५ सुर्यकोट निवासी अन्दाजी ६८ बर्षिया चन्द्रकुमारी भुजेलले आफ्नै जेठो छोरो अन्दाजी ४० वर्षका रमेश भुजेललाई ज्यान लिने गरि शरीरका दर्जनौं ठाउँमा खुकुरी प्रहार गरि हत्या प्रयास गरेकी थिइन ।
गाउँपालिकामा रहेको एम्बुलेन्स लाई थन्काएर राखिएको र चालक नियुक्ति नगरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् । आज बिहानदेखि दिनभरजसो प्रदर्शन भएको थियो । स्थानीयले नारावाजी सहित गाउँपालिका परिसरमा गरेको प्रदर्शन पछि स्थानीय र गाउँपालिका बिच सहमति भएको हो ।