इन्द्रावतीमा विश्व स्तनपान सप्ताहको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक


नवलपुर । “दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ“ भन्ने नारासहित विश्व स्तनपान सप्ताहको अवसरमा इन्द्रावती गाउँपालिकामा आज सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा इन्द्रावती गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईको विशेष उपस्थिति रहेको थियो। नवलपुर प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले स्तनपान गराइरहेका आमाहरू, गर्भवती महिला तथा अन्य सहभागीलाई जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने, शिशुलाई पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने, स्तनपानको सही तरिका, आमा र शिशुको स्वास्थ्यमा यसले पार्ने सकारात्मक प्रभाव तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागीहरूलाई स्वास्थ्यकर्मीहरूले व्यवहारिक सुझावसहित आवश्यक परामर्श प्रदान गरेका थिए । कार्यक्रमले दिगो जीवनको स्वस्थ सुरुवातका लागि प्रभावकारी स्तनपानको महत्वबारे समुदायमा थप जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply