नवलपुर । इन्द्रावती गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका गाउँपालिकाका नागरिकको विवरण उपलब्ध गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ।
गाउँपालिकाले अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीमा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी तथा विपद्का कारण रसुवा क्षेत्रमा वैदेशिक व्यापार, जलविद्युत् आयोजना, निर्माण कार्य तथा श्रमका सिलसिलामा रहेका इन्द्रावती गाउँपालिकाका नागरिकसँग सम्पर्क हुन नसकेको जानकारी गाउँपालिकामा प्राप्त भएको सूचनामा उल्लेख छ।
उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन गाउँपालिकाले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। सम्पर्कविहीन व्यक्तिको यथाशीघ्र खोजतलास तथा उद्धारका लागि परिवारजन, आफन्त तथा सम्बन्धित सरोकारवालालाई उनीहरूको पूर्ण विवरण गाउँपालिकाको कार्यालयमा उपलब्ध गराइदिन आग्रह गरिएको छ। सूचनामा विपद्को यस कठिन समयमा सम्पूर्ण नागरिकलाई आवश्यक सहयोग र समन्वयका लागि अपिल गरिएको छ।
