इन्द्रावती, सिन्धुपाल्चोक
भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिने इन्द्रावती गाउँपालिका वडा नम्बर १ स्थित सिम्पालकाभ्रे स्वास्थ्य चौकीलाई विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ। समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीको एकल व्यक्तिगत सहयोगमा उक्त स्वास्थ्य सामग्रीहरू प्राप्त भएको हो।
स्वास्थ्य चौकीमा आज अभियान्ता गिरीले अक्सिजन कन्सन्ट्रेटर, दुई थान फेटल डप्लर फेड्स्कोप, डिजिटल BP सेट, र वाटर डिस्पेन्सर लगायतका विभिन्न स्वास्थ्य उपकरण तथा सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो।
स्वास्थ्य चौकीका प्रमुख नवीनकुमार चौधरीको सभाध्यक्षतामा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, कार्यक्रममा समाजसेवी मोहनबहादुर गिरी विशिष्ट अतिथि र वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
दुर्गम क्षेत्रका नागरिकका लागि प्राप्त भएका यी स्वास्थ्य सामग्रीहरू अत्यन्तै महत्वपूर्ण रहेको पूर्व जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविका अष्टमाया तामाङले बताउनुभयो। । यसरी प्राप्त भएका स्वास्थ्य सामग्रीहरूको उचित संरक्षण र सही प्रयोग हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ। यी स्वास्थ्य सामग्रीहरूले गर्दा दीर्घकालसम्म गाउँका नागरिकले सेवा पाउने उहाँले बताउनुभयो।
व्यक्तिगत पहलमा समाजका लागि गरिने यस्ता सकारात्मक कामहरूलाई सम्मान गर्दै लैजानुपर्ने वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले बताउनुभयाे । यस्ता कार्यलाई संस्थागत रूपमा पनि सम्मान गर्ने परिपाटीको विकास गर्न आवश्यक रहेकाे उहाँकाे भनाई थियाे । नागरिकहरूलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन गरीने यस्ता सहयाेगहरुले नागरीकमा उत्साह थपिने वडा अध्यक्षा गिरीले बताउनुभयाे ।

भौगोलिक रूपमा दुर्गम रहेको सिम्पाल काभ्रेका नागरिकहरूलाई स्वास्थ्य सेवा पाउन कुनै सास्ती नहोस् र उहाँहरूलाई स्वास्थ्यमा सहजता मिलोस् भन्ने उद्देश्यले मैले आफ्नै एकल प्रयासमा यी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको शैिक्षक अभियान्ता तथा समाजसेवी माेहन बहादुर गिरीले बताउनुभयाे । स्थानीयको प्राथमिक उपचारमा सहयोग पुग्ने विश्वासका साथ सहयाेग गरेकाे उहाँले बताउनुभयाे । यसका अलावा नागरीकलाइ पर्ने हरेक अप्ठ्याराेमा आफुले सक्दाे सहयाेग गर्ने गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

वडा स्तरमा स्वास्थ्य सेवाको स्तरोन्नति गर्न निरन्तरताका दिनकाे लागि वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङले आग्रह गर्नुभयाे । यो सहयोगले वडावासी नागरिकहरूलाई स्वास्थ्य सेवामा थप सहजता प्रदान गर्ने उहाँले बताउनुभयाे। आगामी दिनमा पनि नागरिकलाई सहज स्वास्थ्य सेवा दिन वडा प्रतिबद्ध रहेकाे वडा अध्यक्ष तामाङले बताउनुभयाे ।

स्वास्थ्य संस्थामा उपलब्ध भएका यी आधुनिक स्वास्थ्य सामग्रीहरूको प्रत्यक्ष प्रयोगले नागरिकको स्वास्थ्य उपचार प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउने स्वास्थ्य चाैकी प्रमुख नवीनकुमार चौधरीले बताउनुभयाे । उहाँले सहयोगका लागि दाताप्रति हार्दिक आभार व्यक्त गर्नुभयाे ।
कार्यक्रमको सुरुमा पूर्व जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविका अष्टमाया तामाङले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। दुर्गम गाउँमै आवश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध भएपछि स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै दाता मोहनबहादुर गिरीप्रति आभार प्रकट गरेका छन्।
व्यक्तिगत पहलमा समाजका लागि गरिने यस्ता सकारात्मक कामहरूलाई सम्मान गर्नुपर्छ। यस्ता कार्यलाई संस्थागत रूपमा पनि सम्मान गर्ने परिपाटीको विकास गर्न आवश्यक छ, जसले गर्दा नागरिकहरूलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन थप प्रोत्साहन मिल्नेछ।









