मेलम्ची नगरपालिकाको २१औँ नगरसभा सम्पन्न: आगामी वर्षका लागि रु. १ अर्ब ६५ करोडभन्दा बढीको बजेट पारित

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, असार १७

स्थानीय विकास र समृद्धिको नयाँ खाका कोर्दै मेलम्ची नगरपालिकाको २१औँ नगरसभा बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ को महत्त्वाकाङ्क्षी तथा रूपान्तरणकारी बजेट सार्वजनिक गरेको छ।

असार १० गते प्राविधिक कारणवश स्थगित भएको नगरसभाले बुधबार व्यापक छलफल र जनप्रतिनिधिहरूको रचनात्मक सुझावसहित नीति, कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित गरेको हो

नगरपालिकाले दिगो विकास र नागरिकको प्रत्यक्ष जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको छ। यस पटक विशेष गरी निम्न क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको छ:

  • शिक्षा र स्वास्थ्य: गुणस्तरीय शिक्षा र पहुँचयोग्य स्वास्थ्य सेवाको विकास।
  • कृषि र खानेपानी: स्थानीय उत्पादन वृद्धि र स्वच्छ खानेपानीको सुनिश्चितता।
  • पूर्वाधार र पर्यटन: सडक सञ्जालको विस्तार र मेलम्चीको पर्यटन प्रवर्द्धन।
  • विपद् व्यवस्थापन र वातावरण: जलवायु परिवर्तनका चुनौती र विपद् सामना गर्न विशेष कोष।
  • सुशासन र युवा: युवा स्वरोजगार, खेलकुद विकास र प्रविधिमैत्री सेवा प्रवाह।

स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै नगरपालिकालाई समृद्ध बनाउने लक्ष्य बजेटले लिएको छ। नगरसभामा बोल्दै नगरपालिकाका पदाधिकारीहरूले बजेट कागजमा मात्र सीमित नभई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

बजेट कार्यान्वयनको चरणमा पूर्ण पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई उच्च प्राथमिकतामा राख्ने र हरेक नागरिकले विकासको महसुस गर्न सक्ने गरी काम हुने प्रमुख आइतमान तामाङले बताउनुभयो।

नगरसभामा जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले बजेट सन्तुलित र मेलम्चीको आवश्यकता अनुरूप रहेको भन्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन्।

Leave a Reply