अदुवा खेती कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न, आम्दानी–खर्च विवरण सार्वजनिक

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक,

इन्द्रावती गाउँपालिका–५ मा “एक वडा एक उत्पादन” कार्यक्रमअन्तर्गत सञ्चालित मसला बाली (अदुवा खेती) कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा अदुवा खेती कार्यक्रमको आम्दानी–खर्च विवरण सार्वजनिक गर्दै कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी गराइएको हो।

सूर्यकोट बहुउद्देश्यीय कृषक समूहकी उपाध्यक्ष रुद्रकुमारी सञ्जेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शोभना तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। 

कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, कृषि अधिकृत अमृता पौडेल, कृषि इन्जिनियर रामप्रसाद अधिकारी, इन्द्रावती गाउँपालिकाका कृषि अधिकृत रबिना कोजु, वडा अध्यक्ष शशिनाथ आचार्य, वडा सदस्य कृष्णप्रसाद सञ्जेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी तथा अदुवा खेतीमा संलग्न कृषकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद गौतमले अदुवा खेती कार्यक्रमको आम्दानी–खर्च विवरण प्रस्तुत गरेका थिए। साथै सहभागी कृषकहरूले औषधि उपचार, बजार व्यवस्थापन, कृषि मेसिन तथा उपकरणको उपलब्धतालगायतका विषयमा जिज्ञासा राख्दै सुझाव दिएका थिए।

उठेका प्रश्नहरूको समूहका तर्फबाट रामप्रसाद गौतम, वडा अध्यक्ष शशिनाथ आचार्य तथा कृषि विकास कार्यालय धुलिखेलका प्रमुख कुलप्रसाद दवाडीले जवाफ दिनुभएको थियो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभना तामाङले कृषकमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै उपाध्यक्ष रुद्रकुमारी सञ्जेलले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

Leave a Reply