मेलम्ची । बर्ड फ्लु रोगको सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न मेलम्ची नगरपालिकाले कुखुरा तथा पशुपन्छी व्यवसायीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।
शुक्रबार नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूलाई बर्ड फ्लु रोगको पहिचान, संक्रमण फैलिने अवस्था, रोकथामका उपाय तथा जैविक सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले रोग नियन्त्रणसँग सम्बन्धित जिज्ञासा राख्दै आफ्ना अनुभव र सुझाव पनि प्रस्तुत गरेका थिए।
पशु सेवा शाखा प्रमुख उपेन्द्र पण्डितले बर्ड फ्लुबाट बच्न खोरको नियमित सरसफाइ, मास्क, बुट र पञ्जाको प्रयोग तथा पशुपन्छीमा अस्वाभाविक मृत्यु वा रोगका लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो। उहाँले राम्रोसँग पकाइएको मासु र अण्डा सेवन गर्दा बर्ड फ्लु सर्ने जोखिम नहुने भएकाले भ्रम र अफवाहको पछि नलाग्न पनि अनुरोध गर्नुभयो।
कार्यक्रममा सहभागी व्यवसायीलाई सरसफाइ व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले चुना वितरण गरिएको थियो। मेलम्ची नगरपालिकाका १३ वटै वडाका कुखुरा तथा पशुपन्छी व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा नगरपालिकाले पशुपालन क्षेत्र सुरक्षित राख्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
