सिन्धुपाल्चोक
इन्द्रावती गाउँपालिका–३ को नवनिर्मित प्रशासनिक भवन तथा सेवा केन्द्रको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, जग्गादाता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताप्रति आभार व्यक्त गर्दै गाउँपालिकाका सबै समस्या आफूलाई जानकारी रहेको बताउनुभयो। राम्रो सेवा प्रवाहका लागि व्यवस्थित कार्यालय आवश्यक रहेको उल्लेख गर्दै उहाँले विगतमा केही कमी–कमजोरी भए पनि अब प्रचलित ऐन, नियम र कानुनको परिधिभित्र रहेर जनतालाई प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भवन राम्रो हुनु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री सेवा दिन सके मात्रै नयाँ भवनको औचित्य पुष्टि हुने बताउनुभयो। लिफ्टिङ खानेपानी तथा सिँचाइ योजनाका लागि बजेट व्यवस्था भइसकेको र ती समस्या छिट्टै समाधान गरिने जानकारी दिँदै गाउँपालिका सबै क्षेत्रको समग्र विकासमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ३ का अध्यक्ष भीमसेन थापाले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै प्रारम्भिक सहमतिअनुसार सबै पक्षसँग सहकार्य गरेर निर्माण कार्य सम्पन्न गरिएको बताउनुभयो। आफ्नो कार्यकालमा भवन निर्माण सम्पन्न भए पनि यो सम्पूर्ण वडावासीको साझा सम्पत्ति भएको उल्लेख गर्दै विकासका लागि राजनीतिक विचारभन्दा माथि उठेर सहमति र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जग्गादाता र समन्वयमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ भवनबाट जनमुखी, पारदर्शी र चुस्त सेवा प्रवाह गरिने विश्वास व्यक्त गर्नुभयो। सेवा प्रवाहका क्रममा कुनै समस्या आए तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा न्यायिक समितिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष शशीनाथ आचार्यले आफू विपक्षमा मुद्दा लड्ने व्यक्तिबाट अहिले बजेट विनियोजन गर्ने जिम्मेवारीमा पुगेको उल्लेख गर्दै डिजिटल युगअनुसार घरबाटै सेवा लिन सकिने व्यवस्था विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। भवन वडाको केन्द्र भागमा रहेकाले सबै नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. २ का अध्यक्ष श्यामबहादुर गिरीले सेवा केन्द्रबाट सेवा दिँदा केही व्यावहारिक चुनौती आउन सक्ने उल्लेख गर्नुभयो भने वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले सबैको सहयोगले भवन निर्माण सम्भव भएको भन्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा दिन आग्रह गर्नुभयो। गाउँपालिका सहअस्तित्व, सहकार्य र सहमतिका आधारमा अघि बढेकाले वडा कार्यालयले पनि त्यही भावनाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
वडा नं. ९ का अध्यक्ष बाबुराम लामाले सुविधा सम्पन्न भवनले सेवा प्रवाहलाई थप सहज बनाउने र प्रभावकारी सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसले उत्कृष्ट वडा निर्माणमा टेवा पुग्ने बताउनुभयो।
पूर्व वडा अध्यक्ष देवप्रसाद बानियाँले भवन निश्चित सर्तसहित निर्माण भएकाले ती सर्तहरूको पालना हुनुपर्ने उल्लेख गर्नुभयो। सबै नागरिकको सहजता र सुविधाका लागि काम गरिएको भन्दै विभिन्न कारणले वर्तमान सहमतिको वातावरण बिग्रिए नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाह गर्न कठिन हुने चेतावनी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नेता गणेशबहादुर ठकुरीले नयाँ भवन बनेकामा नागरिक खुशी भएको बताउँदै राजनीतिक खिचातानीका कारण निर्माणमा ढिलाइ भएको उल्लेख गर्नुभयो। भवन राम्रो हुनु मात्र पर्याप्त नभई विकास निर्माण र सेवा प्रवाह पनि प्रभावकारी हुनुपर्ने सुझाव दिनुभयो।
स्थानीय समाजसेवी भूपेन्द्र बानियाँले विभिन्न उतारचढावबीच सहमतिका आधारमा भवन निर्माण सम्पन्न भएकाले यसको संरक्षणमा सबैको साझा दायित्व रहने बताउनुभयो।
नेकपा (एमाले) वडा कमिटी अध्यक्ष विदुर बानियाँले भवन निर्माणका लागि निकै संघर्ष गर्नुपरेको स्मरण गर्दै अन्ततः भवन निर्माण सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभयो। विगतका मतभेद बिर्सेर अब प्रभावकारी र नागरिकमैत्री सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी, श्रम संस्कृति पार्टीका तर्फबाट कृष्ण बानियाँले पनि आफ्नो धारणा राख्दै वर्तमान स्थानीय सरकारले पालिकामा विभिन्न भौतिक संरचनाहरू निर्माण गरेको उल्लेख गर्नुभयो। निर्माण गरिएका ती संरचनाको संरक्षण गर्दै दीगो रूपमा सञ्चालन गर्न सके मात्र त्यसको वास्तविक उपलब्धि हुने भएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सहभागी अधिकांश वक्ताले नवनिर्मित भवनबाट पारदर्शी, गुणस्तरीय, प्रभावकारी र प्रविधिमैत्री सेवा प्रवाह गर्दै वडा तथा गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउनुपर्नेमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
