भाेटसिपा ,
विद्यालय व्यवस्थापन समितिकाे अधिकारलाई कटाैती गरेर शैक्षिक गुणस्तर अभिवृद्वि हुन नसक्ने ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले बताउनुभएकाे छ ।
श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहकाे अवसरमा मन्तव्य राख्दै तामाङले अहिले सम्मकाे उपेक्षित क्षेत्र शैक्षिक क्षेत्र भएकाे बताउनुभयाे । विद्यालय व्यवस्थापन समितिलाई उपेक्षा गरेर ईन्द्रावती गाउँपालिकाका अध्यक्षले शिक्षा नियमावली संसाेधन गरेकाेमा उहाँले आपत्ती जनाउनुभयाे । त्याे गाउँपालिकाकाे सबैभन्दा ठुलाे भुल भएकाे उहाँले उल्लेख गर्नुभयाे । “गाउँपालिका अध्यक्षले गलत गर्नुभयाे”, निवर्तमान अध्यक्ष तामाङले भन्नुभयाे “पछि अदालतले त्यसलाई उल्टायाे” ।
हरेक संस्थाकाे गरिमालाई हामीले सम्मान गर्न सक्नुपर्ने तामाङले धारणा राख्नुभयाे । सिन्धुपाल्चाेकमा चण्डेश्वरी मावि उदाहरणिय भएकाे भन्दै उहाँले सबै डाईनामिक र सकारात्मक साेच भएकाे जीवन कुमार थापामगर जस्ताे विव्यस अध्यक्ष भएमा विद्यालयले शैक्षिक गुणस्तर वृद्वि गर्न सक्ने विश्वास व्यक्त गर्नुभयाे ।
गाउँलाई कसरी युवाकाे आकर्षण र वृद्ववृद्वाकाे भराेसाकाे केन्द्र बनाउने त्यसमा स्थानिय सरकारले साेच्नुपर्ने बेला आएकाे तामाङकाे भनाई छ । “नेपाल सरकारले शिक्षा ऐन चाँडै ल्याउन जरूरी छ”, उहाँले भन्नुभयाे ।