वीबीपी परिवारको औपचारिक समापन, ‘नयाँ सुरुवात’को सन्देशसहित कार्यक्रम हस्तान्तरण

* # समाचार समाज सिन्धुपाल्चोक

बौद्ध बाहुनीपाटी परिवार कल्याण योजना परिवार (वीबीपी परिवार) को दातृ निकाय वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा संचालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत संचालन हुँदै आएका कार्यक्रमहरुको औपचारिक समापन र नयाँ शुरुवातको सन्देश सहित हेलम्बु गाउँपालिका वडा नम्बर ६ र ७मा संचालित कार्यको हस्तान्तरण आज हेलम्बु ७ स्थित चनौटे रिसोर्टमा सम्पन्न भएको छ । वर्ल्ड नेवर्सको सहयोगमा वीवीपी परिवारले १ जनवरी २०२१ देखी हाल सम्म हेलम्बु गाउँपालिका वडा नम्बर ६/७मा २३ वटा समुहका ४६८ घरधुरीलाई समेटेर संचालन गरेको कार्यक्रमको उपलब्धिहरु वीवीपी परिवारका कार्यक्रम संयोजक अन्जु गौतमले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले वडाले सिंचाइ र खानेपानीका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै अब तरकारी खेतीका लागि पानीको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थाको सहयोगमा गठन भएका कृषक समूहहरूको संरक्षण र प्रवर्द्धनका लागि वडा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।
त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष सन्चबहादुर तामाङले कार्यक्रममार्फत गठन भएका समूहहरूले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै कार्यक्रम हस्तान्तरणभन्दा पनि यसको निरन्तरता महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
जष्ट नेपाल फाउन्डेसनका कार्यक्रम संयोजक फुलबहादुर थापाले संस्थाको निति अनुसार अन्य समुह तथा सरोकारवाला हरुसंग समन्वय गरि कार्यक्रम थपगरी कार्यक्रम प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
इचोक आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख बिदुर ज्योतिले यस कार्यक्रमले महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि भएको र आगामी दिनमा पनि समुहका दिदिबहिनीको जोस जागर र उत्साहमा कुनै पनि कमि नहोस् भन्ने सन्देश दिनुभयो ।
त्यसैगरी पशुसेवा शाखा प्रमुख टोपबहादुर बरुवालले कार्यक्रमले समुदायमा सकारात्मक सन्देश ल्याएको र अन्य वडाहरुमा पनि कार्यक्रम विस्तार गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा वर्ल्ड नेवर्सकि क्षेत्रीय निर्देशक सृजना कार्कीले संस्था बाहिरिए पनि यहाँ बनेका समूह, सिकाइ, सीप र असल अभ्यासहरू समुदायको सम्पत्तिका रूपमा रहिरहने बताउनुभयो । उहाँले स्थानीय तहले यस्ता समूह र कृषकहरूसँग समन्वय गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यसलाई कार्यक्रमको अन्त्य नभई नयाँ सुरुवातका रूपमा लिन आग्रह गर्दै आगामी दिनमा पनि अनौपचारिक रूपमा सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी कृषकहरूले पनि संस्थाको सहयोगले आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाए । जमुना महिला कृषक समुहका अध्यक्ष गोमा भट्टराईले समूह गठनपछि गाउँमै उत्पादनका प्रशस्त सम्भावना रहेको महसुस गरेको बताउनुभयो । अध्ययन अवलोकन भ्रमणबाट धेरै कुरा सिक्न पाएको भन्दै रासायनिक मलको सन्तुलित प्रयोगसँगै गोठको मलमूत्र तथा गड्यौला मलको प्रयोग गरी प्राङ्गारिक खेती गर्न सकिने ज्ञान प्राप्त गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी गंंगा स्वस्थ्य आमा महिला समुहका अध्यक्ष लक्ष्मी पण्डितले जैविक विषादीको प्रयोगबाट पनि उत्पादन र आम्दानी बढाउन सकिने अनुभव सुनाउनुभयो । संस्थाको सहयोगपछि आफ्नो नेतृत्व क्षमता, सोच र आत्मविश्वासमा ठूलो परिवर्तन आएको तथा आम्दानीका स्रोतहरू बलियो बन्दै गएको उहाँको भनाइ थियो । आज दुई–चार हजार रुपैयाँका लागि कसैको अगाडि हात फैलाउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले वीबीपी परिवार र साझेदार संस्थाहरूले कृषिमा सीप विकास, जीविकोपार्जन, आयआर्जन, पोषण सुधार, महिला सशक्तीकरण तथा बजार पहुँच विस्तारमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
वीबीपी परिवारका अध्यक्ष भरत बिष्टले दातृ निकाय वर्ल्ड नेवर्सको कार्यक्रम हस्तान्तरण भएता पनि अझै केहि समय वीवीपी परिवारले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा १९ वटा समुहहरुलाई प्रोत्साहन स्वरुप नगद र प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
कार्यक्रमको सहजीकरण वर्ल्ड नेवर्सकि कार्यक्रम अधिकृत संगिता पण्डितले गर्नुभएको थियो । कार्यक्रमले समुदायमा स्थापित समूह, सीप र असल अभ्यासलाई स्थानीय तहको स्वामित्वमा हस्तान्तरण गर्दै दिगो विकास र आत्मनिर्भर कृषिको नयाँ अध्याय सुरु भएको सन्देश दिएको छ ।

Leave a Reply