रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नं ४ का ४४ जना युवा व्यवसायीहरूले टाकुरे आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनीहरूबाट सङ्कलित ७० हजार रुपैयाँ बुधवार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ टाकुरेका व्यवसायी रामकृष्ण गजुरेलको आवास भवन, कुखुराको टहरा लगायत अन्नपात, लत्ताकपडा र भाँडाकुँडा समेत आगलागीमा परेर भएको क्षति प्रति इन्द्रावती –४ का युवा व्यवसायीहरूले दुःख व्यक्त गरेका छन् ।
व्यवसायी माथि परेको दुःखमा मलम पट्टि लगाउने उद्देश्यले सहयोग सङ्कलन गरिएको अरुण मोटरसाइकल वर्कसपका प्रोप्राइटर युवा व्यवसायी अरुण लामाले जानकारी दिनुभयो । आगलागी पश्चात् इन्द्रावती ४ का युवाहरू एकजुट भएर सहयोग गर्ने निर्णय गरेको लामाले बताउनुभयो ।
समुदायमा बसेपछि एकले अर्कालाई सहयोग गर्न आवश्यक भएको विवेक नुडल्सका प्रोप्राइटर कृष्ण बहादुर तामाङले बताउनुभयो । समुदायमा पर्ने यस्तो विपदमा आफू सदैव सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।
दुःख परेको बेला सबैले एकले अर्कालाई सहयोग गर्नुपर्ने व्यवसायी शिव सापकोटाले बताउनुभयो । “दुःख पिडामा हामी पार्टी नभनी एक हुनपर्छ”, उहाँले भन्नुभयो । “दुख सबैलाई पर्छ, नआतिनुस् हामी छौँ”, सापकोटाले थप्नुभयो ।
सहयोग रकम बुझ्दै पीडित रामकृष्ण गजुरेलले दुःख पर्दा युवाहरूको साथ सहयोग पाएकोमा खुसी व्यक्त गर्नुभयो । सबैको साथ सहयोगको कारण पुरानै लयमा फर्किएर व्यवसाय गर्ने हौसला थपिँदै गएको उहाँले बताउनुभयो ।
गत शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घरसङ्गै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको थियो । आगलागीका कारण ३५ लाख बराबरको क्षति अनुमान गरिएको छ ।