शैक्षिक अभियान्ता मोहनबहादुर गिरीद्वारा राजेश्वरीमा न्यानो कपडा वितरण: ५५ हजार बढीको अक्षय कोष स्थापना

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती, सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ स्थित श्री राजेश्वरी माध्यमिक विद्यालयका ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूका माझ उत्साह र खुसी छाएको छ। गाउँपालिकामै जन्मिएर लामो समयदेखि समाजसेवा र शिक्षा क्षेत्रमा समर्पित शैक्षिक अभियान्ता मोहनबहादुर गिरीले विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा र सफा खानेपानीका लागि वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो।

अभियान्ता गिरीले विद्यालयमा रु. ५५,५५५ (पन्चपन हजार पाँच सय पन्चपन) बराबरको अक्षय कोषको समेत स्थापना गर्नुभएको छ।

​कार्यक्रमका प्रमुख अतिथि एवं इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्रकुमार खातीले सहयोगी हातहरूको प्रशंसा गर्दै व्यक्तिगत तथा एकल प्रयासबाट विद्यालयलाई प्राप्त हुने यस्ता सहयोगले शैक्षिक क्षेत्रलाई थप मजबुत बनाई गुणस्तर वृद्धिमा ठूलो टेवा पुग्छ। दाताको यो योगदान सराहनीय छ, र हाम्रा विद्यार्थीहरूले पनि यस्ता प्रेरणादायी कार्यबाट सिकेर भोलिका दिनमा समाजसेवामा अग्रसर हुनुपर्छ।”भन्नुभयो।

​विगत साढे दुई वर्षदेखि गाउँपालिकाभरिका सबै सामुदायिक विद्यालयमा शैक्षिक सामग्री, न्यानो कपडा, पोशाक र वाटर डिस्पेन्सर पुर्‍याउने महाअभियानमा जुट्नुभएका विशेष अतिथि मोहन बहादुर गिरीले आफ्ना अनुभव साट्दै सुरु गर्दा गाउँपालिकामा ४२ वटा विद्यालय थिए, हाल मर्ज भएर ३८ वटा बाँकी छन्। साढे दुई वर्षको यात्रामा अब एउटा मात्र विद्यालयमा पुग्न बाँकी छ, जुन छिट्टै सम्पन्न गर्दैछौँ। तर यो अभियानको अन्त्य होइन; आवश्यकता परेका विद्यालयमा सहयोग निरन्तर रहनेछ। विपन्न तथा जेहेन्दार विद्यार्थीहरूले प्राविधिक शिक्षा पढ्न चाहेमा म सम्पूर्ण खर्च व्यहोर्न तयार छु।” अभियान्ता गिरीले हालसम्म ४५ भन्दा बढी विद्यार्थीहरूलाई प्राविधिक शिक्षाको सम्पूर्ण शुल्क व्यहोर्दै अभिभावकत्व प्रदान गरिसक्नुभएको छ।

​सो अवसरमा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष श्यामबहादुर गिरीले अभियानले पालिकाको शैक्षिक सुधारमा इट्टा थपेको बताउनुभयो। पालिकाका कुना-काप्चाका विद्यालयसम्म पुगेर विद्यार्थीको मुहारमा मुस्कान ल्याउने यो पवित्र कार्यमा जोडिन पाउँदा मलाई निकै गर्व लागेको छ।” यस्ता कामहरूले आगामी दिनमा शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धिका लागि ठूलो फड्को मार्न सक्ने गिरीले बताउनुभयो।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै पूर्व प्रधानाध्यापक माधवप्रसाद सापकोटाले अभियानको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। निमित्त प्रधानाध्यापक सुदर्शन पराजुलीले अभियान्ता गिरीलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि विद्यालयसँगको यो सम्बन्ध र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

​विभिन्न पालिकाभरि चर्चा र प्रेरणाको स्रोत बनेको यो अभियानले इन्द्रावतीमा समाजसेवाको उत्कृष्ट उदाहरण पेस गरेको छ।

Leave a Reply