चण्डीका नेपाली, काठमाडौं
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित हुनु भएको छ । काठमाडौंमा सम्पन्न सङ्घको दोस्रो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको हो ।
खुल्ला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्रि रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र बागमती प्रदेशबाट सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनु भएको छ । त्यसैगरी पत्रकार नरभूपाल विक (गण्डकी प्रदेश), मानसिंह विक (लुम्विनी प्रदेश), टेकेन्द्र रसाइली (कर्णाली प्रदेश) र प्रेम विक (सुदूरपश्चिम प्रदेश) र समावेश उपाध्यक्षमा भिमबहादुर गन्धर्व निर्वाचित हुनु भएको छ ।
महासचिवमा पत्रकार करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेश कुमार पासवान, सुनिता नेपाली र बसन्त विश्वकर्मा हुनुहुन्छ । महाधिवेशनले कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदसीय कार्यसमिति निर्वाचित गरेको छ । ४५ जना कार्यसमिति सदस्यमा १० जना पछि नियुक्त हुने छन् ।
दलित समुदायका पत्रकारको अधिकार सुनिश्चि गर्दै जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समावेशीकरणका लागि मिडियाको माध्यमबाट सामुहिक तथा संगठित पहल र पैरवी गर्ने उद्देश्यले २०७६ मा संघको स्थापना भएको ननिर्वाचत अध्यक्ष बराइलीले जानकारी दिनुभयो । संघमा देशभरका झण्डै पन्ध्र सय दलित समुदायका पत्रकार क्रियाशील छन् ।
