रेडियाे मिसन, दुवाचौर
मेलम्ची नगरपालिका वडा नं ७ स्थित जुनतारा बहुआयामिक सामुदायिक भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची ७ सेल्लेकाे मिजार टोलमा बन्न लागेको सामुदायिक भवनको आइतबार शिलान्यास गरिएको हाे ।
भवन श्रमदान सहित ३९ लाखमा बन्न लागेको हो । श्रमदान ३ लाख र नगरपालिकाको ३६ लाखमा भवन बन्ने नगर प्रमुख तामाङले जानकारी दिनुभयाे । यो वर्ष ३९ लाखको काम हुने बताउँदै आगामी वर्षहरूमा अपुग बजेट थप्ने नगर प्रमुख तामाङले प्रतिबद्धता व्यक्त गर्नुभयाे । समितिका अध्यक्षको आग्रहमा आवश्यकता अनुसार सामुदायिक भवन निर्माणमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख तामाङले नगरपालिकाको सबै वडामा बहुआयामिक भवन बनाउने लक्ष्य अनुसार गत वर्ष ३ वटा र यो वर्ष २ वटा भवन बनाउने जानकारी दिनुभयो । नगर प्रमुख तामाङले जग्गा दाताहरूलाई धन्यवाद व्यक्त गर्दै सम्मान गर्नुपर्ने बताउनुभयाे ।
बहुआयामिक भवन १३ वटै वडामा बनाउने लक्ष्य नगरपालिकाको रहेको छ । भवन अपाङ्गमैत्री, बाल मैत्री र जेष्ठ नागरिकको लागि सहज हुने छ । समितिका अध्यक्ष वीर बहादुर तामाङले यस भवन बाट ४६ घर धुरी लाभान्वित हुने बताउनुभयो । भवन बनिसकेपछी सामाजिक कार्यहरू गर्न सहज हुने तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ, नेपाली कांग्रेसका नेता ज्यान बहादुर तामाङ, नेपाली कांग्रेस वडा सभापति दीप तामाङ, समाजसेवी गणेश तामाङ, नगर प्रमुखका प्रेस सल्लाहकार युवराज पुरी, पत्रकार, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।







