मेलम्ची । मेलम्ची नगरपालिका भित्रका शारीरिक अपाङ्गता भएका बालबालिकाका लागि लक्षित घुम्ती शिविर सम्पन्न भएको छ। मेलम्ची नगरपालिका र विकलाङ्ग मित्र समूह तथा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोकको सयुक्त आयोजनामा १८ वर्षसम्मका बालबालिकाका लागि अपाङ्गता पहिचान,शारीरिक स्वास्थ्य परीक्षण, सहायक सामग्री नापजाँच तथा पुनर्स्थापन सेवा प्रदान गरिएको हो ।
शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रबाट खटिएका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। मेलम्ची नगरपालिका विभिन्न वडाबाट आएका सेवाग्राही गरी कुल ७५ जनाले सेवा लिएका छन् ।
मेलम्ची नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख लक्ष्मी परियारका अनुसार सेवाग्राहीमध्ये १८ जना वयस्क, ४० जना अनुगमनमा रहेका र १७ जना नयाँ पहिचान भएका बालबालिका रहेका छन् ।
त्यस्तै, शिविरमार्फत सहायक सामग्री पनि वितरण गरिएको छ। जसअनुसार १ जनालाई बैसाखी, ४ जनालाई वाकर, १ जनालाई लम्बर बेल्ट, ३ जनालाई लौरो, १ जनालाई गुड्ने मेच तथा १ जनालाई एल्बो बैसाखी प्रदान गरिएको संस्थाका सुपरभाइजर टिका विकले जानकारी दिनुभयो ।फिजियोथेरापी सेवा ७५ जना ले लिएका छन।
साथै सहायक सामग्रीका लागि १७ जनाको नापजाँच गरिएको छ भने १३ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ। थप परीक्षणका लागि ४ जनालाई सिफारिस गरिएको संस्थाले जनाएको छ । मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान, वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ लगायतको उपस्थितिमा शिविरको उद्घाटन गरिएको थियो ।थियो ।
