बुढीचौर ।
प्रतिनिधि सभा सदस्य युवराज दुलालले सबै पक्षबीच समन्वय र सहकार्यले मात्रै बिकास संभव हुने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बुढीचौरमा आयोजित दोस्रो ऐतिहासिक इन्द्रावती बुढीचौर नयाँ वर्ष सांस्कृतिक मेला २०८३ लाई सम्बोधन गर्दै सांसद दुलालले विरोधले गरेर विकास नहुने भएकोले सबै मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
सांसद दुलालले आफू पुरै क्षेत्रको प्रतिनिधि भएकाले सबै स्थानलाई समान रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफू प्रदेश सरकारमा हुँदा पनि इन्द्रावती गाउँपालिकामा सबैभन्दा बढी बजेट ल्याउने पालिकामध्ये एक भएको उल्लेख गर्दै शिक्षा, खेलकुद, सडक लगायतका क्षेत्रमा सुरु भएका योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहेको उनले बताउनुभयो ।
सांसद दुलालले बुढीचौर क्षेत्रमा संरचना निर्माणका लागि आफू सुरु देखि नै सक्रिय रूपमा लागेको जनाउँदै यसको परिकल्पना अनुसार विकास अघि बढाउन सबैको साथ, सहयोग र प्रयास आवश्यक रहेको बताउनुभयो । “मैले र उसले गर्ने काम भनेर नलिई डीपीआर अनुसार संरचना निर्माण गर्न सबैको पहल जरुरी छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा, वडा नम्बर ११ का अध्यक्ष रामजी माझी, वडा नम्बर १० का पूर्व अध्यक्ष जीवन थापा मगर लगायत जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
