नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको चौथो नगर परिषद् शनिबार मेलम्चीमा सम्पन्न भएको छ । परिषद्ले संगठनको वार्षिक गतिविधिको समीक्षा, आगामी वर्षको कार्ययोजना निर्माण, शिक्षकहरूको पेशागत हकहित तथा शैक्षिक विकासका विषयमा छलफल गर्नुका साथै ४३ जना शिक्षकलाई सम्मान गरेको छ ।
नगर समितिका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका राष्ट्रिय समिति सचिवालय सदस्य राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संगठनका पूर्व नेता एवं इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष ढुङ्गानाले संगठनको वार्षिक सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मधुसुदन धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सांगठनिक प्रतिवेदनमा नगर समितिले वर्षभरि सञ्चालन गरेका गतिविधि, तिनको उपलब्धि तथा प्रभावकारिताको समीक्षा गर्दै आगामी वर्षका लागि प्रस्तावित कार्यक्रम र कार्ययोजना समेटिएको थियो । प्रस्तुत प्रतिवेदनमाथि सहभागीहरूले विभिन्न सुझाव तथा धारणा राखेका थिए ।
अध्यक्ष ढुङ्गानाले नगर समितिको पहलमा सञ्चालन गरिएका नगरस्तरीय भलिबल प्रतियोगिता, प्रश्नपत्र निर्माण कार्यशाला, सिर्जनात्मक लेखन कार्यशाला तथा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी शिक्षक तालिमलगायतका कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । उहाँले यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि, आपसी एकता र संगठनात्मक सक्रियता बढाउन योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
त्यसैगरी, कोषाध्यक्ष धितालले वर्षभरिका आर्थिक कारोबार, आय–व्ययको विवरण तथा संगठनका विभिन्न रचनात्मक गतिविधिमा प्राप्त आर्थिक र भौतिक सहयोगसमेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा मेलम्ची नगरभित्रबाट पछिल्लो वर्ष सेवा निवृत्त हुनुभएका, शिक्षक सेवा आयोगमार्फत स्थायी सेवामा प्रवेश गर्नुभएका तथा विभिन्न तहमा बढुवा हुनुभएका गरी ४३ जना शिक्षकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमले शिक्षकहरूको लामो सेवा, समर्पण र योगदानको कदर गर्नुका साथै नयाँ पुस्ताका शिक्षकहरूलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार श्रेष्ठले शिक्षकहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न संगठनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पछिल्लो समय ट्रेड युनियन अधिकारमाथि भइरहेका हस्तक्षेपप्रति सम्पूर्ण शिक्षकहरू सचेत र एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उहाँले मेलम्ची नगर समितिले नियमित रूपमा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।
शिक्षाको पेशागत सुरक्षा, शिक्षक अधिकार, वृत्तिविकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा अन्तरक्रियात्मक छलफल गरिनुका साथै सहभागीहरूले संगठनलाई थप प्रभावकारी, सिर्जनशील र शिक्षकका पेशागत सवालमा क्रियाशील बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए । प्राप्त सुझावका आधारमा आगामी दिनमा कार्ययोजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्ने नगर समितिले जनाएको छ ।
