सिन्धुपाल्चोक। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस गरिएको अवस्थामा पार्टीभित्रैबाट युवा पुस्ताले शसक्त हस्तक्षेप गरेको छ। बहालवाला मन्त्री तथा दिग्गज नेतालाई चुनौती दिँदै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरू हेमन्त श्रेष्ठ र साजन तामाङले जिल्ला कार्य समितिको २५ गते सम्पन्न पूर्ण बैठकमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि कांग्रेस सिन्धुपाल्चोकमा नयाँ र पुरानो पुस्ताबीचको राजनीतिक टकराव सतहमा आएको छ।
पछिल्लो समय देशभरि भ्रष्टाचार र बेथिति विरुद्ध उठेको ‘जेन-जी’ (Gen Z) आन्दोलनको राप अहिले दलहरूको आन्तरिक राजनीतिमा स्पष्ट रूपमा महसुस गरिएको छ। युवा नेताहरूको यो घोषणालाई परम्परागत राजनीतिको निरन्तरतामाथि उठेको बलियो प्रश्न र परिवर्तनको आकाङ्क्षाको रूपमा विश्लेषण गरिएको छ।
लामो समयदेखि एउटै नेताको वरिपरि घुमिरहेको राजनीतिक नेतृत्वलाई चुनौती दिने उद्देश्यले युवाहरूले यो कदम चालेको बुझिन्छ। उनीहरू ‘पहुँच’ भन्दा ‘योग्यता’ र ‘नेतृत्व हस्तान्तरण’ मा विश्वास राख्छन्। यसैबीच, मोहनबहादुर बस्नेतमाथि टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि बस्नेतको वैधानिकता र नैतिक आधारमाथि समेत प्रश्न उठेको छ। युवा उम्मेदवारहरूको यो घोषणाले पार्टी नेतृत्वलाई यस्ता विवादित नेतालाई पुन: अवसर दिने विषयमाथि पुनर्विचार गर्न ठूलो दबाब सिर्जना गरेको छ।
युवाहरूको यो कदमले जिल्ला कांग्रेसभित्रको गुटगत समीकरणलाई पनि प्रभावित पार्ने निश्चित छ। बस्नेत इतर समूहले युवाहरूलाई आफ्नो समर्थन दिने सम्भावना बढेको छ।
एकल सिफारिस भए पनि जिल्लाबाटै सशक्त युवा आवाज उठेपछि पार्टी नेतृत्व ‘एकल निर्णय’ ले मात्र नहुने निष्कर्षमा पुग्न बाध्य हुनेछ। सिन्धुपाल्चोकको यो घटनाले नेपाली कांग्रेसले युवालाई प्रोत्साहन गर्ने र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने नीति कति इमानदारीपूर्वक लागू गर्छ भन्ने प्रश्न खडा गरेको छ ।
सिन्धुपाल्चोक-१ मा अब अनुभवी नेता मोहनबहादुर बस्नेतको नेतृत्व र युवा नेता हेमन्त श्रेष्ठ तथा साजन तामाङको परिवर्तनको ऊर्जा र आकाङ्क्षाबीचको प्रतिस्पर्धाले आगामी निर्वाचनको माहौललाई रोचक बनाउने निश्चित छ। यद्यपि, उम्मेदवारीको अन्तिम निर्णय कांग्रेसको केन्द्रीय संसदीय समितिले गर्नेछ, तर जिल्लाबाट उठेको यो विद्रोहलाई केन्द्रले सजिलै पन्छाउन सक्ने अवस्था भने छैन।
