चौतारा । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका १६ महिनादेखि ५९ महिनासम्मका २ हजार २ सय ५० बालबालिकाले सबै अनिवार्य खोप प्राप्त गरेको पुष्टि भएपछि आज शुक्रबार चौतारामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले घोषणा गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री थापाले खोप व्यवस्थापनका कारण शिशु मृत्युदर घटेको उल्लेख गर्दै दिगोपना कायम राख्न मन्त्रालयको प्रतिबद्धता दोहोर्याउनुभयो । साथै, महिला स्वास्थ्य स्वयम्सेविकालाई थप सबलीकरण गर्नेतर्फ जोड दिनुभयो ।
जिल्लाका सबै १२ स्थानीय तहका १०३ वडामा घरधुरी सर्वेक्षण गरी आवश्यक खोप पूरा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईको भनाई छ ।
यससँगै सिन्धुपाल्चोक मुलुकको नवौँ पूर्ण खोप सुनिश्चितता जिल्ला बनेको हो । घोषणा सभामा अभियानमा योगदान गर्नेहरूलाई सम्मानसमेत गरिएको थियो ।