एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ईन्द्रावती गाउँपालिकाद्वारा नगद सहित सम्मान

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।

ईन्द्रावती गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ।

गाउँपालिकाको आठौं अधिवेशनको दोस्रो बैठकको अवसर पारेर आज गाउँपालिका भित्रका माध्यमिक शिक्षा परीक्षामा सहभागी भई उत्कृष्ट जिपिए सहित (ग्रेडेड) उत्तीर्ण एकजना छात्र र एकजना छात्रालाई २५ हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

सम्मानित हुनेमा छात्र र छात्रा दुवै विद्यार्थी वडा नम्बर ७ मा रहेको राजेश्वरी माध्यमिक विद्यालयका रहेका छन् ।

छात्रतर्फ ३ दशमलव ७१ जीपीएसहित उत्तीर्ण अविरल श्रेष्ठ र छात्रातर्फ ३ दशमलव ५५ जीपीए प्राप्त गर्न सफल सुरक्षा मगरातीलाई सम्मान गरिएको हो।

साथै वडा नम्बर २ का अध्यक्ष तथा कार्यपालिका सदस्य श्यामबहादुर गिरीले आजको बैठकको भत्ता स्वरूप प्राप्त रकम समेत सम्मानित विद्यार्थी अविरल श्रेष्ठलाई प्रदान गर्नुभएको छ।

सम्मान कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले शिक्षा विना अन्य कुराहरू सम्भव नरहेको बताउँदै गाउँपालिकाले अत्याधिक स्रोत र साधन शिक्षामा लगानी गरेको जानकारी दिनुभयो । साथै त्यसको प्रतिफल स्वरूप वर्षेनी शैक्षिक गुणस्तर अभिवृद्धि हुँदै गएको र यसरी शैक्षिक प्रतिभालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

साथै २०७९ सालमा निर्वाचित भएर आउँदा ४७ प्रतिशत रहेको शैक्षिक उपलब्धिलाई पाँच वर्षमा ७० प्रतिशत पुर्याउने लक्ष्यसहित अघि बढेकोमा तेस्रो वर्षमानै ६९ दशमलव ५२ प्रतिशत पुर्‍याउन सफल भएको र यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सबैको साथ र सहयोगले तेस्रो वर्षमानै लक्ष्यको नजिक पुग्न सफल भएको बताउँदै उहाँले सम्मानित हुने विद्यार्थीहरूलाई हेरी अन्य विद्यार्थीहरूले पनि मेहनत गर्न सुझाव दिँदै उज्ज्वल भविष्यको कामना समेत गर्नुभयो।

Leave a Reply