नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख आतिध्यतामा तालिमको आज समापन गरिएको हो ।

समापन कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय सरकार सबैको अभिभावक भएकाेले सबै क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । त्यस्तै पत्रकारिता क्षेत्रको समृद्धि पनि इन्द्रावती समृद्ध बनाउने एउटा पाटो भएको बताउँदै यस आधारभूत तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागु गर्दै राम्रो पत्रकारको रूपमा आफूलाई विकास गर्न पनि सहभागीलाई आग्रह गर्नुभयो । सूचना र प्रविधिको अहिलेको युगमा समय परिवर्तनसँगै आएको माग र आवश्यकता पूरा गर्न सकेमा मात्रै सूचना र प्रविधिको युग हो भन्ने कुराले सार्थकता पाउने उहाँको भनाई थियो । गाउँपालिकामा पत्रकार उत्पादन गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउँदै गाउँपालिकामा रहेको एकमात्र रेडियो रेडियो मिसनको विकास, विस्तार र सुदृढीकरणको दायित्व पनि गाउँपालिकाको भएको पनि उहाँले बताउनुभयो ।
साथै गाउँपालिकामा विभिन्न कार्यक्रम तथा तालिमहरू हुने गरेको जानकारी दिँदै तालिम लिइसकेपछि व्यवहारमा कमैले मात्रै लागू गर्ने गरेको बताउँदै यस तीन दिने पत्रकारिता तालिम लिएका भाइबहिनीहरूले भने तालिमको भरपुर सदुपयोग गरी व्यवहारमा लागु गर्न आग्रह समेत गर्नुभयो । यसलाई सही सदुपयोग गरी व्यवहारमा लागू गरेमा थप क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले अन्य कार्यक्रम समेत ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै अन्य विशिष्ट व्यक्तिहरूको उदाहरण दिँदै आफ्नो कामबाट गाउँपालिकाको उदाहरणीय व्यक्ति बन्न पनि आह्वान गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै रेडियोका अध्यक्ष सन्तोष सिग्देलले सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। साथै रेडियोमा आइ थप सिकाई गर्न चाहनेहरूका लागि रेडियो मिसनको ढोका सदैव खुला रहेको पनि उहाँले बताउनुभयो । साथै तीन दिनसम्मको यो तालिममा धैर्यताका साथ सहभागिता जनाउनु हुने प्रशिक्षार्थीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहकार्य गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ऐसेलुखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठ, गाउँपालिका अध्यक्षका प्रेस सल्लाहकार सुनिल तामाङ, तालिमका प्रशिक्षक प्रकाश सुन्दास, रेडियोका स्टेसन म्यानेजर किरण थापा लगायतको पनि सहभागिता रहेको थियो । तीन दिने तालिमको पत्रकारहरू ज्ञानेन्द्र तिमल्सिना र प्रकाश सुन्दासले सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिकाको आर्थिक सहयोग र रेडियो मिसनको आयोजनामा असार ७ गतेबाट सुरु भई आज सम्पन्न भएको तालिममा गाउँपालिका भित्रका १९ जनाको सहभागिता रहेको थियो ।








