रेडियाे मिसन ।
पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनबाट आर्थिक बर्ष २०८२–८३ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ । आज निति तथा कार्यक्रम पारित तथा आर्थिक विधेक प्रस्तुत गरिएको गाँउपालिकाका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । भोलि ९ बजे बाट बिनियोजन ऐन पेश गरि पारित गरेर बजेट प्रस्तुत गरिने उहाँले बताउनुभयो । गाँउपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा अधिवेशन सुरु भएको हो ।
कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले गाँउपालिकालाई अझ सहयोग गर्नुपर्ने बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले बजेटले पर्यटनलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै एमालेबाट निर्वाचित वडा नं ६ का अध्यक्ष एवम पालिकाका प्रबक्ता नारायण भट्टराईले पनि संघ र प्रदेश सरकारले बजेटमा हेला गरेको बताउँदै काठमाडौबाट नजिकै रहे पनि बत्तिमुनिको अधेँरो जस्तै भएको बताउनुभयो ।
उहाँले पालिकाले शिक्षा र स्वास्थ्यमा ध्यान दिरहेको बताउँदै स्थानीय सरकार आएपछि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।उँहाले आन्तरिक श्रोतबाट भएपनि शिक्षकको व्यवस्थापन गरिएको बताउनुभयो ।
राप्रपाबाट निर्वाचित वडा नं४ का अध्यक्ष कुलबहादुर बस्नेतले प्रदेश र संघ सरकारले बजेटमा गरेको व्यबहार आपत्तिजनक रहेको बताँउदै नेताहरुले बोलेको कुरा पुरा नगरेको बताउनुभयो ।
पालिका भवन उद्घाटनमा बर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिबद्धता गरेको मेलम्ची– भोताङ सडक निर्माणका लागि बजेट बिनियोजन नभएकोमा यहाँका जनप्रतिनिधि र स्थानीयले गुनासो गरिरहेका छ्न । गाउँसभा सदस्य देवराज गुरुङले निति कार्यक्रम मार्फत सुझाव राख्नुभयो ।
सामाजिक विकास समितिका काले गोले , आर्थिक विकास संयोजक आलोक स्याङ्बो लगायतले उठेका प्रश्नको जवाफ दिनुभयो ।
गाउँ सभाबाट पालिकाको विकासमा संघ र प्रदेश सरकारले ध्यान नदिएको भन्दै गाउँ सभाबाट बजेटमा ध्यान नदिएकोमा ध्यानाकर्षण प्रस्ताव समेत पास गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । गाउँसभाबाट पारित निति तथा कार्यक्रमले पर्यटनलाई जोड दिएको छ । पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवस्थित रुपमा तथ्यांक राख्न, सुचना प्रदान गर्न र पर्यटन शुल्क उठाउन सहजताको लागी भोताङकोड डुप्खाङमा पाँचपोखरी चेक पोइन्ट निमार्ण गरीने,पर्यटक प्रर्वद्धनका लागी पाँचपोखरी पर्यटन प्रर्वद्धन सबैको सार्थक जीवन,पाहुँना हाम्रो साथी,मेरो गाउँ म चिनाउँछु,म भित्र्याउछु हाम्रो गाउँमा पर्यटक,आफ्नै गाउँमा बसेर भन्ने नारालाई आत्मसाथ गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कृषि तर्फ कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जोड दिइएको छ । त्यसका लागी कृषि क्षेत्रको आधुनिकिकरण र व्यबशायी करण तथा भण्डारण र बजारीकरणको प्रवन्ध मिलाइने उल्लेख छ ।
सिकाइ उपलब्धी वृद्धि गर्ने विद्यालय तथा शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने पनि निति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाको तर्फबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागी दिइदै आएको यातायात खर्च वृद्धिगरी १ हजार पुर्याइने उल्लेख छ । साथै रोजगारी वृद्धिलाई पनि निति तथा कार्यक्रमले सम्बोधन गरेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँइकेल लगायतको उपस्थिति रहेको थियो ।