खेल वर्षाले रद्द हुँदा फाइनल पुगेका दुवै टोलीलाई विजेता घोषणा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

काठमाडौँ : मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लबलाई संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्ला स्तरीय सातौँ पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता घोषणा गरिएको छ।

खेल वर्षाले प्रभावित भई पूरा हुन नसकेपछि फाइनलमा पुगेका दुवै टोलीलाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।

फाइनल खेलमा मेलम्ची नगरपालिकाले टस जितेपछि ब्याटिङको निम्तो पाएको पाँचपोखरीले १७ दशमलव ४ ओभरमा एक विकेट गुमाएर १३३ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि पुन सुरु हुन नसकी खेल रद्द भएपछि फाइनल खेलेका दुवै टोलीलाई संयुक्त रुपमा उपाधि प्रदान गरिएको हो।

मेलम्ची नगरपालिकाले सेमिफाइनलमा द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा दुई रनले पराजित गर्दै फाइनल पुगेको हो भने पाँचपोखरी भोटेचौर स्पोर्ट्स क्लब सँगको सेमिफाइनल खेल रद्द भएपछि समूह ए को विजेताको रूपमा फाइनल प्रवेश गरेको थियो ।

उपाधि सँगै दुवै टोलीले समान ७५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।

प्रतियोगितामा वेष्ट व्याटर द माइटी साँगाचोकका अशोक पौडेल, वेष्ट बलर मेलम्चीको सोनु देवकोटा र प्लेयर अफ द टुर्नामेन्ट मेलम्चीका रिन्जिन लामा घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मेलम्चीका रिन्जिन लामाले ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ६ महिना निशुल्क प्रशिक्षण पाउने छन् । उत्कृष्ट बलर र ब्याटरले ३ महिना निशुल्क प्रशिक्षण पाउनेछन् । यस्तै ३ उत्कृष्ट खेलाडीलाई एन्जल्स स्पोर्ट्स एकेडेमीले ३-३ महिना प्रशिक्षण सुविधा दिने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका र नेपाल क्रिकेट एसोसिएसन सिन्धुपाल्चोकको आयोजनामा जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको आज समापन भएको हो। प्रतियोगितामा मेलम्ची नगरपालिका, पाँचपोखरी क्रिकेट, पाँचपोखरी हिमालयन क्रिकेट क्लब, भोटेचौर स्पोर्ट्स क्लब, साँगाचोक गढी युवा क्लब, द माइती साँगाचोक क्लब र हेलम्बु गाउँपालिका गरी जिल्लाभित्रका सात टिमले सहभागिता जनाएका थिए।

Leave a Reply