मेलम्ची नगरपालिका वडा नम्बर १० का उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु सम्मानीत भएका छन् । वडा शिक्षा समितिको आयोजनामा आज एक कार्यक्रमका विच सम्मान गरेको हो ।
श्री सितलादेवी माविमा भएको कार्यक्रममा शिक्षक विद्यार्थी सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ । अन्तर बिद्यालय स्तरीय कक्षा १–५ को चित्रकला प्रतियोगिता, कक्षा ६ देखी ८ सम्म निबन्ध लेखन प्रतियोगिता र मावि स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
शैक्षिक सत्र २०८१ को कक्षा ५ को वडा स्तरीय परीक्षा र कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा बिद्यालयलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । चित्रकला र निबन्ध लेखन प्रतियोगितामा विविध स्थान ल्याउने विद्यार्थीहरुलाई पनि नगद पुरस्कार र स्टेसनरी सामग्री सहित पुरस्कृत गरिएको सितलादेवी माबिका पधानाध्यापक रुद्र बहादुर चापागाईले जानकारी दिनुभयो ।
वडा शिक्षा समितिकाका अध्यक्ष तथा वडा अध्यक्ष अमृत खनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रतियोगितामा निर्णायकको भूमिका रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती र फटकशिला माबिका शिक्षक हरिप्रसाद सापकोटाले गर्नुभएको थियो ।
वडा शिक्षा समिति मेलम्ची १० ले यस्तै विविध रचनात्मक कार्यक्रमहरु बिगतदेखी नै गर्दै आइरहेको छ । वडा शिक्षा समिति अध्यक्ष तथा वडा अध्यक्ष अमृत खनालले शिक्षाको विकास विना अरु विकास सम्भव नहुने बताउनुभएको छ । वडा तहमा रहेर शैक्षिक सुधार र शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन आफु लागिरहेको उहाँले बताउनुभयो । यसरी गरीने सम्मानले आगामि दिनमा अरु शिक्षक तथा विद्यार्थीहरुलाई पनि हौसला मिल्ने उहाँले बताउनुभयो ।


