नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जनसंख्या, बसाइँसराइ तथा जलवायु परिवर्तनले स्थानीय विकासमा पारेको प्रभावबारे अध्ययन गरिएको छ। सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको समन्वयमा ICIMOD को आर्थिक तथा KU/NISD को प्राविधिक सहयोगमा ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ कार्यक्रमअन्तर्गत अध्ययन तथा तथ्यांक संकलन गरिएको हो।
गाउँपालिकाका १२ वटै वडामा स्थलगत भ्रमण, स्थानीयवासीसँग अन्तर्वार्ता, समूहगत छलफल तथा प्रश्नोत्तरमार्फत तथ्यांक संकलन गरिएको संस्थाले जनाएको छ। गाउँपालिकाको पाश्र्वचित्र, वडा कार्यालयका विवरण, सरकारी तथा गैरसरकारी कार्यालयका अभिलेख र विभिन्न निकायबाट प्रकाशित तथ्यांक तथा प्रतिवेदनसमेत अध्ययनमा समेटिएको छ।
अध्ययनको मुख्य उद्देश्य इन्द्रावतीमा स्थायी बसोबास भएका तथा हाल अनुपस्थित रहेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्नु, महिला र पुरुषको अनुपस्थितिमा रहेको भिन्नता पहिचान गर्नु तथा जनसंख्या गतिशीलताको प्रभाव बुझ्नु रहेको छ। साथै जलवायु परिवर्तन, बसाइँसराइ र रोजगारीका अवसरलाई गाउँपालिकाको आगामी योजनामा समावेश गर्न सहजीकरण गर्ने लक्ष्य राखिएको छ।
तथ्यांकअनुसार गाउँपालिकाबाट रोजगारी तथा व्यवसायका लागि देशका विभिन्न जिल्ला तथा भारत, जापान, क्यानडा, अस्ट्रेलिया, कोरिया, अमेरिका, बेलायत, युरोप र खाडी मुलुकसम्म मानिसहरू जाने गरेको पाइएको छ। अध्ययनले वैदेशिक रोजगारी तथा आन्तरिक बसाइँसराइका कारण गाउँपालिकाको जनसंख्यामा उल्लेख्य परिवर्तन देखिएको जनाएको छ।
अध्ययनका क्रममा विवाह, स्वास्थ्य उपचार, रोजगारी, तीर्थयात्रा तथा अन्य कारणले हुने आवतजावतसमेत पहिचान गरिएको छ। स्थानीय तहको विकास योजना निर्माणमा जनसंख्या तथा बसाइँसराइसम्बन्धी तथ्यांकलाई आधार बनाउने उद्देश्यले तयार गरिएको जनसंख्या नक्सांकनले गाउँपालिकालाई आगामी योजना तथा नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
संस्थाका अनुसार संकलित तथ्यांकले जलवायु परिवर्तन, बसाइँसराइ र स्थानीय विकासबीचको सम्बन्ध बुझ्न तथा स्थानीय आवश्यकताअनुसार दीर्घकालीन योजना बनाउन आधार तयार गर्नेछ।

