रेडियाे मिसन ।
मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा निर्माणाधीन नगर अस्पतालको अनुगमन गरिएको छ। आज नगरप्रमुख तामाङ लगायत वडाध्यक्ष र सरोकारवालाहरूको उपस्थितिमा नगर अस्पतालको अनुगमन गरिएको हो ।
नगर प्रमुख तामाङको नेतृत्वमा गएको टोलीले अनुगमनका साथै निर्माण कम्पनीलाई जति सक्दो छिटो काम सक्नको लागि निर्देशन दिएको हो। साथै बाँकी रहेका कामहरूको बारेमा पनि योजना तयार गरी काम सक्न नगरप्रमुख तामाङले निर्देशन दिनुभएको हो। नगर अस्पतालमा यस अघि पनि नगर प्रमुख तामाङले फरक फरक समयमा अनुगमन गरी जति सक्दो छिटो काम सक्न निर्देशन दिँदै आउनुभएको थियो।
अनुगमनको क्रममा नगरप्रमुख तामाङले निर्माण कम्पनीलाई गुणस्तरमा सम्झौता गर्न नसकिने बताउनुभएको छ। पारदर्शी तरिकाले काम सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको हो।
नगर प्रमुख तामाङको टोलीले बजार व्यवस्थापनका लागि पनि गर्नुपर्ने कामहरूको सूची तयार गरेको छ। जसमध्ये हेलम्बु बसपार्कमा सार्वजनिक शौचालय निर्माण गर्ने जागेश्वरी खोला संरक्षण गर्ने मेलम्ची बजारमा अव्यवस्थित रहेको ढललाई व्यवस्थित गराउने र श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयको जग्गा छुट्याएर व्यवस्थित छात्रावास निर्माण गर्ने नगरप्रमुख तामाङले बताउनुभएको छ।
मेलम्ची बजारलाई सुन्दर शान्त र सफा नगर बनाउनको लागि आफू सधैँ तत्पर रहेको नगरप्रमुख तामाङले बताउनुभएको छ।
आजको अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल मेलम्ची क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ लगायत नगरपालिकाका प्राविधिक र सरोकारवालाहरूको सहभागिता रहेको थियो।