स्थानीयको माग पूरा गराउने सहमति पछि मेलम्चीको पानी काठमाडौँ पठाइँदै

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची मुहानमा गएर स्थानीयको माग पूरा गराउने सहमति गरेपछि आज मंगलबार पानी सुरुङमा पठाउने भएको छ । खानेपानी मन्त्री प्रदिप यादवको नेतृत्वमा मेलम्ची विकास समितिका अधिकारीहरु तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा स्थानीय संघर्ष समितिबीच सोमबार राति सहमति भएपछि सुरुङमा पानी पठाउने तयारी गरेको हो । मन्त्री यादवले स्थानीयले राखेका माग पूरा गराउन दिनभर छलफल गर्नुभएको थियो ।
हेलम्बुमा २०७८ सालमा आएको बाढीबाट प्रभावितहरुको पुनस्र्थापना, सडक, पुल तथा भौतिक संरचना निर्माण तथा पानीको महसुलको निश्चित प्रतिशत रकम हेलम्बुको विकासमा लगाउने सम्बन्धी सहमति भएपछि स्थानीयले पानी सुरुङमा प्रवेश गराउन दिने भएका हुन् । हेलम्बु गाउँपालिकाको कार्यालयमा भएको वार्तामा गरिएको सहमति कार्यान्वयनमा आफू इमान्दारीपूर्वक लाग्ने जानकारी मन्त्री यादवले बताउनुभएको छ ।
आफ्नो माग पूरा नएभएसम्म पानी लैजान नदिने भन्दै स्थानीय बाढी प्रभावितले मुहान क्षेत्रमा भेला भएर केही समयदेखि नाराजुलुस गर्दै आएका थिए । बाढी गएको तीन वर्ष पूरा भए पनि राजनीतिक नेतृत्व र सरकारले बोलेका बाचा अधूरै रहेको भन्दै उनीहरुले योजनाबद्ध विकास सञ्चालन गर्न माग गर्दै आएका छन् । त्यतिबेला आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्म करिब २० किमि क्षेत्रमा धनजनको क्षति गरेको थियो । पर्याप्त बजेट र योजनाको अभावमा पुनर्निर्माण हुन सकेको छैन ।
बाढीपहिरोले काठमाडौं उपत्यकामा पानी अभाव हुन थालेपछि मेलम्चीको पानी ल्याउन मन्त्री यादव आन्दोलनरत पक्षसँग वार्ता गर्न हेलम्बु आउनुभएको थियो । यादवले आफूले प्रधानमन्त्री केपी ओलीसँग हेलम्बुवासीको मागका विषयमा छलफल गरेर मुहान आएको बताउनुभयो । सहमतिमा सरकारका तर्फबाट खानेपानीमन्त्री यादव तथा प्रभावितका तर्फबाट हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन, संघर्ष समितिका संयोजक पासाङ शेर्पासहित कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

Leave a Reply