मेलम्ची
पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका वडा नम्बर ८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपर्नुभएको छ । ६५ वर्षीया कोइराला क्यौरानी—दुवाचौर खैँडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र सम्बद्र्धनमा लाग्नुभएको हो ।
उहाँ अहिले भजन गाउन मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँगाउँमा पुगिरहनुभएको छ । हिन्दू धर्मसंस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोकभजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलागायतका पौराणिक कथालाई लयबद्ध रुपमा छोटो टुक्का बनाइन्छ । सो टुक्कालाई खैँजडीको तालमा लयबद्ध रुपमा गाउँदै नाचिन्छ खैजडी भजनमा ।
पुरापूर्व कालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरण नहुँदा भने समस्या भएको छ । पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण खैजडी लोकभजन संकटमा परेको छ । पुरानो लोकसंस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ । तर मेलम्ची–७, दुवाचौरका दिनेश पौडेल भने कोइराला सँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहनु भएको छ । २२ वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँपुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउनुभयो ।
भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग । ‘पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो; सामाजिक सद्भाव, एकआपसमा आत्मीयता बढ्थ्यो,’ आफ्नो लोकसंस्कृति लोप हुँदै गएकामा उनले दुखेसो पोख्दै भन्नुभयोे –‘अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन् ।’ सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैजडीको तालमा भजन गाएर नाच्ने गरेको उहाँले सुनाउनुभयो । आफ्नो विगत सम्झँदै कोइरालाले भन्नुभयोे –‘छोरानाति सबैले खैँजडीको तालमा लोकभजन गाउन, नाच्न बिर्सिए; खैँजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ ।’ उहाँको जाँगर र फूर्ति देखेर पनि खैँजडी भजन समूहले पनि उनलाई भरपुर साथ दिइरहेका छन् ।
बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपान्मुख हुँदै छ । गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणमा अझै समस्या छ । युवावर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन् । अहिले पनि केही युवाहरुमा यसको चासो भने रहेको पाइन्छ । लोलीमा लोली मिलाउनेहरुको भन्दा पनि अहिले कथा प्रस्तुतकर्ताको अभाव छ ।
भजन संरक्षणका लागि झ्याली, खैँजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ । स्थानीय तहलागायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा काइरालाको छ । खैँजडीसँगै कोइरालासँग बालनटोली पनि छ । विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित हुनुहुन्छ ।
बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आए पनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेकाले संस्कृति लोप हुने खतरा बढेको भारती बताउनुहुन्छ । बालन नृत्य दिनानु दिन लोप हुन थालेको विषयमा मेलम्ची–७ का पिताम्बर भारतीलाई निकै दुखेसो लागेको छ ।
भारतीले गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिर पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रातभरि बालन नृत्य गर्ने गरेको सुनाउनुभयो । यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति आफूले पनि बचाउँदै आएको उहाँले बताउनुभयो ।
अहिले यस्ता पर्वमा डिस्को, हिन्दी अंग्रेजी गीत गुञ्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको भारतीको भनाइ छ । विगतमा बालन नृत्य गर्दा धार्मिक ग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरुपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरु बताउँछन् ।
हिजोआज हिन्दी तथा पाश्चात्य संस्कृतिको प्रभावका कारण आफूहरुको खाँट्टी परम्परामा आधारित बालान नृत्यको प्रचलन नै हराउँदै गएपछि अब यो लोप हुने अवस्थामा पुगेको धारणा समितिको छ । अबका युवालाई खैजडी भजनसँगै बालन नृत्यसम्बन्धी प्रशिक्षण दिनुपर्ने र प्रत्येक चाडपर्वमा भजनकीर्तन बालन नृत्य अनिवार्यरुपमा प्रदर्शन गर्ने हो भने यो संस्कार र संस्कृतिको संरक्षण हुने उनीहरुको भनाइ छ ।
विगतमा बालन नृत्य गर्दा धार्मिकग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरूपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरू बताउँछन् ।
हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा पाका स्थानीयवासीको पनि जोड छ । स्थानीयवासी सिद्धिनारायण श्रेष्ठ यसको जगेर्ना गर्ने जिम्मा स्थानीय तहको पनि रहेकाले यस विषयको तालिम सञ्चालन गरी संरक्षण गर्नुपर्ने बताउँछन् । हिन्दू धर्ममा निकै प्रचलित खैँजडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादका रुपमा देख्न पाइन्छ ।
युवापुस्तामा विकसित पश्चिमा संस्कृतिको आकर्षण र प्रविधिले गर्दा लोप हुँदै गएको हो । युवाको पुरानो संस्कृतिमा आकर्षण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालिमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुननसकेको हो ।
नगरले सहयोग गर्ने
माग भई आएमा त्यस्ता तालिम सञ्चालनमा आफुले सहयोग गर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । उहाँले कला संस्कृति जोगाउन नगर तयार रहेको बताउनुभयो । यहाँका स्थानीय तहले विभिन्न कार्यक्रममा टोलीलाई बोलाएर चाडवाड मेलामा भजन गाउन लगाउने गरेका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पालिकाको सहयोगमा जनै पूर्णिमामा यस टोलीले भजन प्रस्तुत गरेका थिए ।