लार्के र इन्द्रावती नदिमा आएको भीषण बाढीले पूर्ण रुपमा क्षति पु¥याएको झोलुङ्गे पुलको निमार्ण सम्पन्न हुन लागेको छ । पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे अगुवाईमा पुल निर्माण हुन लागेको हो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ भोताङ र वडा नम्बर २ याङ्री जोड्ने झोलुङ्गे पुलमा गत असार ३० गते इन्द्रावती नदिमा आएको भिषण बाढीका कारण क्षति पुर्याएको थियो । ३० गते आएको बाढीले मात्र गाउँपालिकाको ३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
बाढीले क्षति पुर्याएको पुल मध्ये गाउँपालिकाको आफ्नै स्रोतबाट चिण्डे र याङरीमा रहेको पुल निमार्ण सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीले क्षति पुर्याएको माकालमा भने अब स्थाई मोटरेवल पुल निमार्णका लागी छिट्टै टेण्डर आह्वान गर्ने अध्यक्ष लामाले बताउनुभयो । बाढीले पुलमा क्षति पु¥याएपछि आवतजावत बन्द भएको थियो ।
वडा नम्बर २ को याङ्री, सुनचौर, डाले, ब्राथोर, रिपार, लगायतका स्थानियको एकमात्र लाईफ लाईनको रुपमा रहेको झोलुङ्गे पुलमा क्षति पुगेपछि निकै समस्या खेप्न परेको स्थानिय केशाङ तामाङले बताउनुभयो । तामाङका अनुसार विद्यालय जाने विद्यार्थी,स्थानिय र धार्मिक स्थल आमायाङ्री जाने पर्यटकलाई समेत प्रत्यक्ष असर परेको थियो ।
पुलमा क्षति पुगेपछि माथिल्लो सरकारलाई पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो । प्रदेश सरकार र केन्द्र सरकारलाई क्षतिका बारेमा जानकारी गराउँदै पुल लगायत अन्य संरचना निमार्णका लागी अनुरोध गर्दा समेत सुनुवाई नभएपनि गाउँपालिकाकै स्रोत र साधनबाट स्थानिको असुविधालाई मध्यनजर गर्दै पुल निमार्णको प्रक्रिया अगाडी बढाइएको लामाले बताउनुभयो ।
सो पुलमा २०७८ असार १ गते आएको बाढीले समेत क्षति पुर्याएको वडा नम्बर ३का अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो । तत्कालिन अवस्थामा समेत गाउँपालिकालेनै बजेट विनियोजन गरेर पुल निमार्ण गरेको ३ बर्ष नवित्दै पुनः बाढीले क्षति पुर्याएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले गरेको कामको स्थानियले प्रशंसा गरेका छन् । १६२ मिटर लामो पुल गाउँपालिकाको करिव ३४ लाख लागतमा पुल निमार्ण गरिएको हो । त्यस्तै वडा नम्बर १ र ६ जोड्ने चिण्डे पुल १३ लाख लागतमा ६५ मिटर लामो पुल निमार्ण गरिएको गाउँपालिकाले जनाएको छ ।