तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी आंशिक थुनियो

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उहाँले बताउनुभयो ।
फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या हुने तर अहिलेकै अवस्था चाहिँ खतरामुक्त भएको बताउँदै ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई रहेको उहाँकले जानकारी दिनुभयो ।
आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । नेपाली सेनाका अनुसार, पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरु सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।।।

Leave a Reply