सुनकोशी गाउँपालिकाले पालिका भित्रका क्याम्पसमा अध्ययन गर्नेलाइ भर्ना गरिदिने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिका भित्रकै क्याम्पसमा अध्ययन गर्ने पालिका भित्रका विद्यार्थीहरुलाई आफैंले भर्ना गरिदिने भएको छ ।

गाउँकै क्याम्पसमा विद्यार्थीहरुलाई आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले नीति तथा कार्यक्रममा नै गाउँपालिका भित्रका क्याम्पस र गाउँपालिकाका विद्यार्थीहरुलाई भर्नामा कुनै शुल्क नलिने गरेर बजेट व्यवस्थापन गरेको थियो । सोही व्यवस्था अनुसार साउन देखि गाउँपालिका का विद्यार्थीहरुले गाउँपालिका भित्र रहेका क्याम्पसमा अध्ययन गर्दा भर्ना शुल्क दिनु नपर्ने र गाउँपालिका आफैले विद्यार्थीहरुको भर्ना गरिदिने गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकामा दुइ वटा सामुदायिक क्याम्पसहरु रहेका छन् ।

सुनकोशी गाउँपालिका–१ मा ठोकर्पा सामुदायिक क्याम्पस र ७ नम्बर वडामा सुनकोशी क्याम्पस हाल सञ्चालनमा रहेका छन् । गाउँपालिका भित्र रहेका यी दुवै क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा विभिन्न विषयहरुको पढाइ हुने गरेको छ ।

स्नातक अध्ययन गर्ने सबै विद्यार्थीहरुको हामी ले नै भर्ना गरिदिने छौ र त्यसका लागि गाउँपालिकाले बजेट को पनि व्यवस्थापन गरेको छ गाउँपालिका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । यो वर्ष गाउँपालिका भित्रका विद्यार्थीहरुका लागि मात्रै यस्तो व्यवस्था गरिएपनि आगामी वर्ष अन्य गाउँपालिकाबाट आउने विद्यार्थीहरुका लागि पनि के गर्न सकिन्छ आफुहरुले सल्लाह गरिरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको पहिलो क्याम्पस सुनकोशी क्याम्पसको स्थापना दिवसको अवसरमा गाउँपालिकाले गर्न लागेको अभियानको बारेमा अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभएको थियो ।

गाउँका क्याम्पसहरुमा विद्यार्थी अभाव हुदै गएपछि क्याम्पस टिकाउन र विद्यार्थीहरुमा पढ्न प्रेरित गर्ने उदेश्यले गाउँपालिकाले ल्याएको यो कार्यक्रम प्रभावकारी हुने ठोकर्पा क्याम्पस प्रमुख हिक्मतबहादुर खत्रीले बताउनुभयो । गाउँका क्याम्पसहरुमा प्राय छोरीबुहारीहरु अध्ययन गर्ने गरेका छन् । छात्राको तुलनामा छात्राको संख्या गाउँका क्याम्पसहरुमा बढी रहेको क्याम्पसहरुले जानकारी दिएका छन् । भर्ना शुलक बाहेक सुनकोशी गाउँपालिकले दुवै क्याम्पसहरुलाई पुर्वाधार निर्माणका लागि हरेक वर्ष बजेट उपलब्ध गराउदै आएको छ । सामुदायिक क्याम्पसहरुलाई संघीय र प्रदेश दुवै सरकारले कुनै सहयोग उपलब्ध नगराउने भएपछि आफुहरुले यो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

Leave a Reply