चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य कर्मीहरुलाई कामको गति बढाउन आग्रह गर्नुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक बर्ष २०८२/८३ मा गरेका कार्यको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रमुख सापकोटाले नगरले ल्याएका निति, योजना र कार्यक्रम सफल बनाउन कर्मचारीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।उहाँले स्वास्थ्यकर्मी र कर्मचारीलाई कामको गति अझै बढाउन आग्रह गर्दै सेवाग्राहीको सन्तुष्टि र सुलभ स्वास्थ्य सेवा नै नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सिता थापाले समिक्षा कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।उहाँले स्वास्थ्यकर्मीले काम संगै त्यसको डकुमेन्टेसन र प्रक्रियामा पनि ध्यानदिनुपर्नेमा जोड दिनुभयो ।उहाँले आर्थिक बर्षको सुरुवात देखिनै कार्यक्रम सन्चालन नगरे त्यसको प्रभावकारीता नहुने भन्दै समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नगरपालिका र जनस्वास्थ्यको समन्वयमा काम गर्न सहज रहेको बताउँदै स्थानीय तहले जिल्ला, प्रदेश र संघिय सरकारसंग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो । उहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउदै प्राबिधिक लगायत सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
दुई दिन चल्ने कार्यक्रममा नगरपालिका तथा त्यस अन्तर्गत रहेका स्वास्थ्य संस्था तथा अन्य संस्थाहरुले गरेका असल कार्य , चुनौती, समस्या, सुधारगर्नु पर्ने बिषयमा चर्चा गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले बताउनुभयो ।


