RIMES द्वारा ‘स्ट्रेन्थनिङ लास्ट माइल कम्युनिकेसन’ (SLMC) परियोजना हस्तान्तरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चोक,

मेलम्ची नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिको बैठक तथा ‘स्ट्रेन्थनिङ लास्ट माइल कम्युनिकेसन’ (SLMC) परियोजना हस्तान्तरण एवं समापन कार्यक्रम सम्पन्न भएको छ।

नगर प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा Regional Integrated Multi-Hazard Early Warning System (RIMES) ले SLMC परियोजनाअन्तर्गत मेलम्ची नगरपालिकामा सञ्चालन गरेका गतिविधि, उपलब्धि तथा प्रभावबारे प्रस्तुतीकरण गरेको थियो।

सोही अवसरमा RIMES का नेपाल प्रमुख पूजा शाक्यले मेलम्ची नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील समितिलाई परियोजनासँग सम्बन्धित सामग्री तथा प्रविधि हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरण गरिएका सामग्रीमा विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण तथा एलईडी डिजिटल स्क्रिनसमेत रहेका छन्।

परियोजनाअन्तर्गत RIMES ले विपद् पूर्वसूचना प्रणालीको विकास तथा उपयोग, खोज तथा उद्धार, प्राथमिक उपचार, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना, विपद् पोर्टल तथा पूर्वानुमान प्रणाली सञ्चालन र हावापानी मापन केन्द्र स्थापना लगायतका महत्वपूर्ण कार्यहरू गरेको छ।

त्यसैगरी, कोसेली घरबाट डिजिटल बोर्डमार्फत मौसम तथा विपद्सम्बन्धी पूर्वानुमान र सूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ। यसबाट सम्भावित विपद्को पूर्वजानकारी समयमै समुदायसम्म पुर्‍याउन, आवश्यक पूर्वतयारी गर्न तथा विपद्का समयमा प्रभावकारी प्रतिकार्य गरी मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

RIMES ले विगत केही वर्षदेखि विपद् जोखिम न्यूनीकरण, बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ। परियोजनाअन्तर्गत हस्तान्तरण गरिएका सामग्री तथा प्रविधिले मेलम्ची नगरपालिकाको विपद् पूर्वतयारी, जोखिमसम्बन्धी सूचना प्रवाह र प्रतिकार्य क्षमतालाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिमलाई न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोग गर्न तथा स्थानीय तहको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न SLMC परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याएको कार्यक्रमका सहभागीहरूले बताएका छन्।

Leave a Reply