ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो ।

गाउँपालिकाको गत आ.व को आर्थिक बिवरण प्रस्तुत गर्दै लेखा शाखा प्रमुख भास्कर पन्तले आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ८५ करोड १० लाख ९५ हजार रहेको जानकारी दिनुभयो । तर वास्तविक प्राप्ती भने ७६ करोड ३२ लाख ३४ हजार ६ सय ९७ भएको छ ।

ठुलो मात्रामा घाटा बजेट निर्माण हुनु, समयमा रकमान्तर नहुनु, समयमै योजना तथा कार्यक्रम सम्पन्न नहुनु, योजना सम्झौता गर्दा रातो किताबमा समावेश गरिएको भन्दा फरक नाममा योजना सम्झौता नहुनु जस्ता समस्याहरु रहेको पन्तले बताउनुभयो । बजेट निर्माण गर्दा वास्तविक स्रोतको सहि अनुमान गरेर बजेट बनाउनुपर्ने, बेरूजुको मात्रा घटाउन सबै वडा कार्यालय शाखाहरूको समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने लगायतका समाधानका उपायहरू प्रस्तुत गर्नुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले ८४ प्रतिशत प्रगती हाशिल गरेको थियो । शिक्षा शाखाले ९३ दशमलब ७८ प्रतिशत, पुर्वाधार बिकास शाखाले सम्झौताको आधारमा ९३ प्रतिशत खर्च गरेको पुर्वाधार बिकास शाखाका प्रमुख राजाराम घोराशैनीले जानकारी दिनुभयो ।

कार्यक्रममा सबै शाखाहरूले प्रगती विवरण पेश गरेका थिए । इन्द्रावती गाउँपालिकाले गरेको शिक्षा शाखाको कामप्रति पालिकाकै जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । इन्द्रावती गाउँपालिकाको २०८०÷८१ को बार्षिक समिक्षा कार्यक्रममा शाखाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पछि जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन् ।

शाखा प्रमुख मिन धामीको प्रतिवेदन प्रस्तुतीकरण संगै वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठले ६ महिना सम्म शिक्षक विद्यालयमा नपठाएको प्रति आपत्ति जनाउनुभयो । उहाँले खरो शैलीमा आफ्नो भनाइ राख्दै शिक्षक सरुवा र दरबन्दी मिलानको नाममा शिक्षक अभाव भएकोले विद्यार्थीको पठनपाठनमा समस्या भएको श्रेष्ठले बताउनुभयो । उहाँले तत्काल शिक्षक पदपूर्ति गर्न समेत माग गर्नुभयो ।

त्यस्तै वडा नम्बर ६ का अध्यक्ष इन्द्र तामाङले शिक्षामा पालिकाले उल्लेख्य लगानी गरेपनि पुरानै शैलीमा पठनपाठन हुनेगरेकाले शिक्षामा सुधार हुनेमा बिश्वास गर्ने ठाउँ नभएको बताउनुभयो । उहाँले विद्यालयको मर्ज भएपछि विद्यालयको सम्पत्ति बेवारिसे भएको भन्दै त्यसमा पालिकाको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष तामाङले वडाका जनप्रतिनिधिलाई पुर्ण अधिकार दिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शसिनाथ आचार्यले मर्जरमा रहेका विद्यालयको सम्पत्ति बारे पालिकाले चासो दिनुपर्ने बताउनुभयो । अध्यक्ष आचार्यले शैक्षिक सामग्री खरिद गर्दा कुन प्रक्रिया बाट कुन प्रणाली बाट हुनेगरेको छ भन्दै खरिद प्रक्रियाका बारेमा अनियमितताको आशंका व्यक्त गर्नुभयो ।

उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले शिक्षक पदपूर्तिको बिषयलाई तत्काल शिक्षा समितीको बैठक बसेर टुंगो लगाउने बताउनुभयो । दुलालले कानुनी रुपमा मुचुल्का बनाएर सम्पत्ति हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामा सुधार ल्याउनका लागी निर्मम हुनुपर्ने बेला आएको बताउनुभयो । विद्यालयमा कमजोर नतिजा आएकाले अब निर्मम हुनुपर्ने बेला आएको उहाँको भनाइ थियो । उहाँले शिक्षा समितिले सुधारको लागी निर्णय गरेमा २४ घण्टा भित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले समीक्षा कार्यक्रममा आएका सल्लाह सुझावलाई कार्यन्वयन गर्दै जाने बताउनुभयो । नितिगत व्यवस्था गरेर सम्बोधन गर्नुपर्ने बिषयलाई नितिगत सुधार गर्ने उहाँको भनाई छ । चालू आवमा कसरी बिकास निर्माणलाई गति दिने भन्ने बिषयमा बृहत छलफल गर्ने बताउँदै नेपालले जिल्लाकै समृद्व पालिका बनाउन लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply