इन्द्रावतीका सबै सामुदायिक विद्यालयमा न्यानाे कपडा र वाटर डिस्पेन्सरः ७ हजार बढी विद्यार्थी लाभान्वित

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

​सिन्धुपाल्चोक

गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री। सुन्दा कुनै ठूलो सरकारी आयोजना वा वैदेशिक सहायता प्राप्त परियोजना जस्तै लागे पनि यो इन्द्रावती गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा सम्भव भएको छ— केवल एक जना समाजसेवी तथा शैक्षिक अभियान्ताको अटुट सङ्कल्प र एकल प्रयासबाट।

​तीन वर्षअघि सुरु भएको अभियानले पालिकाभरिका सबै सामुदायिक विद्यालय समेट्दै पूर्णता पाएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर १२ स्थित श्री भिमेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित भव्य समारोहका बीच साढे चार सयभन्दा बढी विद्यार्थीलाई पोसाक, शैक्षिक सामग्री र वाटर डिस्पेन्सर हस्तान्तरण गर्दै अभियानको औपचारिक समापन गरियो। यस अभियानबाट गाउँपालिकाभरिका करिब ७ हजार ५ सय विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

​अन्तिम चरणको यस कार्यक्रममा शैक्षिक सामग्री तथा पोसाकसँगै विद्यालयका लागि स्पिकर र इसीडी (बाल विकास) कक्षाका साना बालबालिकाहरूका लागि विशेष झोला पनि वितरण गरिएको थियो। ​कार्यक्रममा बोल्ने वक्ताहरूले यस अभियानले इन्द्रावतीको समग्र शैक्षिक विकास र गुणस्तर अभिवृद्धिमा कोशेढुङ्गा थपेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य युवराज दुलालले ​”अबको शिक्षा परम्परागत ढङ्गले मात्र चल्न सक्दैन, शिक्षा पूर्ण रूपमा प्रविधिमैत्री हुनुपर्छ। गाउँघरमै बसेर विद्यार्थीहरूले प्राविधिक शिक्षा पढ्न पाउने वातावरण बनाउनुपर्छ र प्राविधिक शिक्षालयहरूलाई राज्य तथा समाजले प्रोत्साहन गर्दै लैजानुपर्छ। अबको जमाना ‘स्मार्ट’ भइसकेको छ, त्यसैले हाम्रा शिक्षक र विद्यार्थी पनि प्रविधिसँगै स्मार्ट बन्नु आवश्यक छ। मोहनबहादुर गिरी जस्ता निष्ठावान् अभियन्ताहरूको यस्तै सत्कर्मले नै समग्र शैक्षिक क्षेत्रको सुधार र रूपान्तरणमा ठूलो टेवा पुगेको छ।” भन्नुभयाे ।

​कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिका वडा नं. १२ का वडाध्यक्ष सुरेन्द्रबहादुर दनुवारले ​”शिक्षा क्षेत्रमा गरिने यस्ता लगानी र सहयोगले नै स्थानीय तहको शैक्षिक गुणस्तर सुधार्छ। मैले जनप्रतिनिधिको रूपमा निर्वाचित भएदेखि नै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्दै आएको छु। अबको आवश्यकता भनेको प्रविधिमैत्री र सिपयुक्त शिक्षा हो, जसले विद्यार्थीलाई स्वावलम्बी बनाउन सकोस्।” भन्नुभयाे ।

​कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीले ​”शिक्षाको विकास बिना अरू कुनै पनि प्रकारको विकास सम्भव छैन। मैले एकल प्रयासबाट यो अभियान सुरु गर्दा अनेकौँ बाधा, अड्चन र अवरोधहरू आए। तर, शिक्षाप्रतिको मेरो निष्ठा र बालबालिकाको मुस्कानले मलाई पछि हट्न दिएन। आज पालिकाका सबै विद्यालयमा पुगेर यो अभियान समापन गर्न पाउँदा मलाई ठूलो सफलता र सन्तोषको अनुभूति भएको छ। पालिकाका सबै विद्यार्थीले एउटै पोसाक पहिरिऊन् र स्वच्छ पानी पिऊन् भन्ने मेरो चाहना पूरा भएको छ। यसका साथै हाल पालिकाका करिब ४५ जना विद्यार्थीलाई प्राविधिक शिक्षामा सहयोग गरिरहेको छु र आगामी दिनमा पनि प्राविधिक शिक्षा पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ।” भन्नुभयाे ।

​कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष श्यामबहादुर गिरीले ​”मोहन गिरीले सुरु गर्नुभएको यो पवित्र अभियानको एउटा सदस्य बन्न पाउनु मेरा लागि पनि गर्वको विषय हो। तीन वर्षको अवधिमा पालिकाका प्रत्येक सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीको हातहातमा पुग्नु सानो कुरा होइन। यस अभियानले पालिकाको शैक्षिक गुणस्तर र विद्यार्थीको मनोबल बढाउन अभूतपूर्व योगदान पुर्याएको छ।” भन्नुभयाे । साथै उहाँले पालिकाले यस्ता कामहरकाे अपनत्व लिनुपर्नेमा जाेड दिनुभयाे ।

​बडा दशैँको शुभकामना आदानप्रदानसमेत जोडेर आयोजना गरिएको सो भव्य कार्यक्रममा इन्द्रावती गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्र कुमार खाती, वडा नम्बर १० का वडाध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर ११ का वडाध्यक्ष रामजी माझी, कार्यपालिकाका सदस्यहरु, वडा सहस्यहरु, गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

​गाउँका सामुदायिक विद्यालयको भौतिक र गुणात्मक अवस्था सुधार्न एउटा व्यक्तिले दृढ सङ्कल्प गर्छ भने त्यसले सिङ्गो पालिकाको शैक्षिक मुहार नै फेर्न सक्छ भन्ने उदाहरण यो अभियानले पुष्टि गरेको छ।

Leave a Reply