रेडियो मिसन ।
३० औं विश्व आदिवासी दिवसको अवसरमा मेलम्चीमा एक कार्यक्रम आयोजना गरि मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिकाको प्रयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो वर्ष ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्रथमत नेपाली हुनु नै गर्वको कुरा भएको बताउनुभएको छ । जनजातिहरू पनि खुल्ला रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता बनाउन सफल भएको बताउनुभएको छ । समता र शान्ति नै आजको समाजको आवश्यकता रहेको उहाँले बताउनुभयो । हिजोको दिनमा प्रतिस्पर्धा गर्ने ठाँउमा कमजोर रहेको जनजातिहरू आज अवसर र अधिकारमा समान भुमिकामा रहेको नगर प्रमुख तामाङले बताउनुभयो । नीति बनाउने ठाँउमा पनि जनजातिहरू बिस्तारै पुग्ने चरणमा रहेको उहाँले बताउनुभयो । क्षमता विकास र नितिगत रूपमा जनजातिलाई समावेश गरेर लैजानुपर्ने उहाँले धारणा राख्नुभयो । नेपालको संविधानले परिकल्पना गरे अनुरूप सबै नागरीकको स्वतन्त्रताको कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आजको दिन मात्र नभई आदिवासिको विषयमा गरिने सभा गोष्ठि तथा कार्यक्रममा सहयोग निरन्तर गरिरहने नगर प्रमुख तामाङले बताउनुभयो । मेलम्चीमा सबै जातजातिको लागि सरकार छ भन्ने आभाष दिईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख वक्ता तथा राजनितीक विश्लेषक बुध्द छिरिङ मोक्तानले दलिय राजनितीक अभ्यासले देश कंगाल भएको बताउनुभयो । अन्य देशहरूमा छोटो समयमा परिवर्तन आएपनि नेपालमा ७० बर्षको अवधिसम्म पनि यो व्यावस्था असफल भएको बताउनुभयो । आज विश्वमा यो दिवस विभिन्न टापुका देशहरूमा हिजो नै मनाईएको भएपनि हरेक देशको समय अनुसार यो दिवस मनाईरहेको उहाँले बताउनुभयो । आजपनि जनजातिहरू मुल राजनिक धार र नेतृत्वमा पुग्न नसकेको र अझैपनि शोषित बर्गमा परेको उहाँले बताउनुभयो । मुल वंश, धर्म, संस्कृति र पहिरनले जहाँ गएपनि संगै लैजानुपर्ने र त्यसले सुखानिभुति दिने उहाँले बताउनुभयो । आन्दोलन र राजनितीक संघर्षका लागि जनजातिले सहयोग गरेपनि सत्तामा अर्कै जाने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले अधिकार पाउनका लागि सबै एक हुनुपर्ने बताउनुभयो । हरेक जनजातिले आफ्नो भाषा, धर्म र संस्कृति जोगाउन हरेक ठाँउ, तहतप्काबाट उत्तिकै पहल गर्नुपर्ने बताउनुभयो । पालिकाले भाषा र संस्कृति जगेर्ना गर्न सहयोग गर्ने र अरू पनलिकाले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जनजाति महासंध सिन्धुपाल्चोकका उपाध्यक्ष थुप्तेन लामा, लगाएत विभिन्न जातित्वका प्रतिनिधित्व गर्ने, पुर्व पदाधिकारीहरू लगाएतले शुभकामना मन्तब्य राख्नुभयो । वक्ताहरूले अधिकार र हक हितका लागि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
कलाकारहरू पल्मु शेर्पा, जितु लोप्चन, ओम तामाङ वाइबा लगाएतले सांगितिक प्रश्तुति दिनुभएको थियो भने विभिन्न जातजातिको मौलिक साँस्कृतिक प्रश्तुति प्रश्तुत गरेका थिए ।
नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष तारा बहादुर जिरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाभरका आदिवासि जनजातिहरूको सहभागिता रहेको थियो ।





