रेडियो मिसन ।
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको अडिट सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको ४.५ मेगावाटको आयोजनाको अडिट १ र २ सुरुङ छिचोलिएको हो ।
अहिले आयोजना निर्माणको काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको सुरुङमध्ये २ किलोमिटर खन्ने काम सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । १ किलोमिटर सुरुङ खन्ने काम पनि भइरहेको जनाइएको छ । सुरुङको आधी काम यसअघि नै सम्पन्न भइसकेको छ ।
यो आयोजना विगत १४ वर्षदेखि अलपत्र थियो । २०६७ सालमा खारेज भई निर्माण बन्द भएको आयोजनाको पुनःनिर्माणको काम २०८० माघदेखि सुरु भएको हो । कम्पनीले २०८२ सालभित्र सम्पन्न गर्ने गरी निर्माण थालेको हो । आयोजनालाई यो अवधिसम्म ल्याउन धेरै दुख, खर्च लागेको कम्पनीले जनाएको छ ।
आयोजनाको करिब ४० प्रतिशत निर्माण पूरा भइसकेपछि अनुमतिपत्र खारेज गरेर सरकारको बास्केटमा राखिएको थियो । आयोजना निर्माण गरी सञ्चालन हुने अवधिभर लागि ६२ करोड रुपैयाँ तिर्ने गरी २०७८ असारमा नै अनुमतिपत्र पूरानै कम्पनीलाई दिने आशयपत्र जारी गरेको थियो ।
आशयपत्र जारी भएपछि कुनै कम्पनी दाबी विरोध गर्न नआएपछि नेशनल हाइड्रोले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । त्यसपछि विभागले प्रक्रिया पूरा गरेर कम्पनीको नाममा आयोजनाको अनुमतिपत्र जारी गरी निर्माण प्रक्रिया सुरु गरेको थियो । विभागले २०८० बैशाख २० गते उत्पादन अनुमति जारी गरेको थियो ।
बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको टेलरेसबाट निस्केको पानीको प्रयोग गरी सोही खोलाको दायाँ किनारमा मुख्य संरचनाहरू रहने गरी डिजाइन तयार पारिएको छ ।
यस आयोजनाबाट वार्षिक सरदर २९.९८ गिगावट घन्टा विद्युत उत्पादन हुनेछ । विद्युत्गृहमा जडित २ वटा फ्रान्सीस टर्वाइन ९२.३५मेगावाट० र २ वटा ३ फेज जेनेरेटर ९२.६५ मेगावाट० मार्फत ४.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ र त्यहाँबाट निस्केको पानीलाई ५० मिटर लामो टेलरेसबाट पुन इन्द्रावती खोलामा छाडिनेछ ।
आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको २०० मिटर लामो ६६ केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत पाँचखाल सबस्टेसनमा जाडिनेछ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) र कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) सम्पन्न भइसकेको छ ।
आयोजनामा बैंकको नेतृत्वमा ५० प्रतिशत ऋण लगानी गर्ने गरी सम्झौता भएको छ । आयोजनामा ५० प्रतिशत ऋण लगानी र ५० प्रतिशत स्वपुँजी लगानी हुनेछ । आयोजना सम्पन्न गर्न १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।