रेडियो मिसन ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा सुन र वृद्धभत्ताको लोभमा हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बाह्रबिसे– ७ खनियावासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्या आरोपमा प्रहरीले सोही स्थानका फुने भनिने ३६ वर्षीय सञ्जीव देउजालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
१८ साउनमा वृद्धाको हत्या गरेको देउजालाई घटनाको तीन दिनभित्र पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टराईले बताए।
रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी र नातिनातिना काठमाडौं बस्छन्। केही दिनअघि रत्नकुमारीलाई छोरी स्वस्थानी बस्नेतले ५० हजार रुपैयाँ दिएकी थिइन्। घटनाको दुई दिनअघि वृद्धाले वडाबाट १२ हजार सामाजिक सुरक्षा भत्ताबापतको रकमसमेत बुझेकी थिइन्।
वृद्धा रत्नकुमारीसँग पैसा र सुनको गहना भएको थाहा पाएका देउजाले दुई दिनदेखि वृद्धाको सुन र पैसा लुट्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। अभियुक्त प्रायः काठमाडौं–बाह्रबिसे आउजाउ गरिरहने व्यक्ति भएको प्रहरीको निष्कर्ष छ । उनको घर वृद्धाको घरबाट केही पर पर्छ ।
रातभर अविरल वर्षामा भिजेर रत्नकुमारीको घरनजिकै ढुकेर बसेका देउजाले १८ गते बिहान ३ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। ओछ्यानबाट बाहिर निस्केको मौका छोपेर घाँटी थिचेर हत्या गरी शवको दुवै हात बाँधेर घरभित्र खुला भुइँमा लडाएर बाह्रबिसेतर्फ भागेका थिए ।
बिहान अबेरसम्म नउठेपछि छिमेकी टोकमाया खत्री वृद्धा रत्नकुमारीको घर पुगेकी थिइन्। वृद्धाको बीभत्स हत्या देखेपछि उनले इलाका प्रहरी कार्यालय बाह्रबिसेलाई खबर गरेकी थिइन्। खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर घरलाई सुरक्षित गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
काठमाडौंबाट झिकाइएको कुकुरसहितको विशेषज्ञ टोलीले घटनास्थलको जाँच गर्यो। ‘घटनास्थलमा दोषीको केही न केही चिह्न हुन्छ । त्यसमा प्रहरीको विशिष्ट अनुसन्धान विधि र विश्लेषणका साथै उच्चतम प्रविधिको प्रयोगका आधारमा अभियुक्तलाई २१ साउनमा काठमाडौंको गोंगबुबाट पक्राउ गर्न सफल भयौँ,’ डिएसपी भट्टराईले भन्नुभयो। उहाँका अनुसार अभियुक्तले कसुर स्वीकार गरेका छन्।
हत्यापछि वृद्धाबाट लुटेर लगेको ६२ हजार रकम, सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको रिङ र घाँटीमा लगाएको तिलहरी अभियुक्तले विभिन्न व्यक्तिलाई दिएको बयान दिएका छन्। सिन्धुपाल्चोक जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र चोरी डाँकासम्बन्धी कसुरको दफा २४४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।