रेडियो मिसन ।
पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताउनुभयो । उहाँले आफूलाई पाठेघरको क्यान्सर भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो उपचार गर्न नसकेको खण्डमा ज्यान जोखिममा रहेको भनी डाक्टरहरुले भनेको सुनाउनुभयो।
आफू विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेको र जहिल्यैपनि दुःखी तथा पीडितको कुरालाई अगाडि ल्याउन अग्रसर भएर काम गरेको स्मरण गराउँदै उहाँले आहिले आफूलाई परेको दुःखमा सबैले सकेको सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उहाँले रेनुका सुवेदी श्रेष्ठको कृषि विकास बैंक (पाँचखाल शाखा) खाता नम्बर ०२१२७०१५१४०१७०१६ मा आफूले सहेको सहयोग पठाएर उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पत्रकार रेनुका सुवेदी श्रेष्ठको उपचारमा सहयोगी हातहरु अगाडि बढाउन अपिल गर्नुभयो । उहाँले नागरिक समाजका अगुवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
‘एक जना सञ्चारकर्मीको उपचारका लागि म सबै पक्षलाई आग्रह गर्न चाहन्छु । सरकार, सञ्चारमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री सबैलाई आग्रह गर्न चाहन्छु– उहाँको उपचारमा राष्ट्रिय माहोल सिर्जना गरेर उहाँलाई स्वास्थ्यलाभको स्थितिमा पुर्याउन सहयोग गरौं । म पनि उहाँलाई आफ्नोतर्फबाट सकेको सहयोग गर्छु,’– उहाँले भन्नुभयो । उहाँले आजैबाट रेनुका सुवेदी श्रेष्ठ बचाउ अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।