जुरे पहिरो पीडितले नगद राहत पाउने

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, सिन्धुपाल्चोक ।
जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिन’ निर्णय गरेको सिन्धुपाल्चोक(१ बाट निर्वाचित संघीय सांसद माधव सापकोटाले जानकारी दिए ।

८ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो। सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि नेतृत्व गरेका थिए ।

२०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।

Leave a Reply