रेडियो मिसन ।
मेलम्ची नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रम हरुको बार्षिक समिक्षा गरेको छ । नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा नगरसभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्र सञ्चालित १० वटा सघं संस्था, १२ वटा वडा कार्यालय र ७ वटा विषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
गत आर्थिक बर्षमा नगरतर्फका १८० वटा योजना विनियोजित भएकोमा १७९ वटा सम्झौता भएको र १६५ वटा योजना सम्पन्न भएको योजना शाखाका कर्मचारी माया खड्काले जानकारी दिनुभयो । नगरतर्फ ९२ प्रतिशत योजना सम्पन्न भएको छ भने ८ प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको प्रस्तुतीकरणमा आएको छ ।
त्यस्तै वडागत तर्फ ९६ प्रतिशत योजना सम्पन्न भएका छन् भने ४ प्रतिशत बाँकी रहेको छ । नगरपालिकाले १.०२५ किलोमिटर सडक कालोपत्रे,२.६५ किलोमिटर सडक ढलान, १८.५ किलोमिटर सडक गाभ्रेल गरी सडक तथा अन्य पूर्वाधार निमार्णतर्फ २२ वटा कार्य सम्पन्न भएको खड्काले जानकारी दिनुभयो । नगरपालिकाले ८३.५४ प्रतिशत चालु र ८०.१४ पूँजीगत खर्च गरी कुल ८१.७६ प्रतिशत बजेट खर्च गरेको छ । सबैभन्दा बढी खर्च ९८.६१ प्रतिशत लघु उद्यम शाखाले गरेको छ भने सबैभन्दा कम ३६.४० प्रतिशत बजेट सहकारी शाखाले गरेको छ ।
शिक्षा शाखाले ७०, स्वास्थ्य शाखाले ७६, कृषिले ६६, पशुले ६९, महिला तथा बालबालिका शखााले ४८, आयुर्वेदले ९५, न्यायीक समितिले ७३ प्रतिशत खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । वडा नम्बर ८ ले ९९.६८ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम वडा नम्बर ५ ले ८८.३९ प्रतिशत बजेट खर्च गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो जिम्मेवारी कुशलता पुर्वक पुरा गरेकोमा कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । नगरपालिका भित्र संचालित गैह्रसरकारी संस्थाहरुलाई ३÷३ महिनामा आफुले गरेका कार्य प्रगति नगरपालिकामा बुझाउन आग्रह गर्नुभयो । प्रमुख तामाङले जवाफदेही हुन समेत बिषयगत शाखाहरुलाई आग्रह गर्नुभएको छ । उहाँले निर्धक्क भएर जनताको सेवामा लाग्न समेत आग्रह गर्नुभयो ।
गुणस्तरीय, निश्पक्ष र पारदर्शी काम गराउनेकुरामा उपभोक्ता समिती हरुलाई सचेत गराउनुपर्ने तामाङको भनाई थियो । उहाँले जोखिम मोलेर अनुगमन तथा निरीक्षणमा नजान समेत नगर प्रमुख तामाङले प्राबिधिक तथा योजना अनुगमन समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार भट्टराईले विभिन्न समस्या र चुनौतीका बाबजुद पनि आर्थिक बर्ष ०८०÷८१ मा सन्तोष जनक कार्यक्रम सम्पन्न भएको बताउनुभयो । नगरपालिकाले कर्मचारीको अभाव झेल्न परिरहेको भन्दै कर्मचारी सरुवा,अभाव र दरबन्दी अनुसार दक्ष जनशक्ति नहुदा सोचेअनुसार काम गर्न सहज वातावरण नभएको भट्टराईको भनाइ थियो ।
सिमित कर्मचारी भएका कारण प्रभावकारी अनुगमन हुन नसकेको भट्टराईले बताउनुभयो । योजनाको सुरु देखी सम्पन्न नभएसम्म अनुगमन गर्नुपर्ने निर्देशिका भएपनि सोही अनुसार काम हुन नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले जिज्ञासा तथा प्रश्न राखेका थिए ।