रेडियो मिसन ।
मानव बेचबिखन बिरुद्द काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAT LUXEMBOURG (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप–मेयर उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक भगवती तिमस्लिनना, नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख राजेन्द्र दुलाल, रोजगार शाखा प्रमुख सञ्जन श्रेष्ठ, बिभिन्न शाखाका कर्मचारीहरु, संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवार, बिभिन्न वडाका जनप्रतिनिधिहरु, पत्रकार, प्रभावित लगायतको उपस्थितिमा सँस्थाले दुई वर्षको अवधिमा गरेका कामहरु तथा पछिल्लो समय जिल्लामा मानव बेचबिखनको अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रमको प्रभावितहरुले अहिले सँस्थाको सहयोगमा बाख्रापालन, कुखुरा पालन बंगुर पालन गरी जिबिकोपार्जन गरिरहेको बताउँदै संस्थाको परियोजना पश्चात पनि यसलाई निरन्तरता दिन चाहेकोले नगरपालिकाले यसमा सहयोग गर्न माग गर्नुभयो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले लक्षित वर्ग लगायतका लागी भनेर बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै यसको बारेमा जानकारी लिएर सहयोग लिन तथा कार्यक्रमम जोडिन आह्वान गर्नुभयो । साथै कृषिको क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु गरिरहेकोले यस्ता कार्यक्रमहरुमा सहभागी हुन आग्रह गर्दै यस आर्थिक वर्ष गोरु पाल्ने किसानहरुका लागी समेत प्रोत्सहान स्वरुप अनुदान दिन लागेको जानकारी दिनुभयो । जसका लागी नगरपालिकाकले निति तथा कार्यक्रममै समाबेश गरी बजेटको समेत ब्यवस्था गरेको उहाँले बताउनुभयो ।
नगरपालिका गाउँलाई सहर बनाउने अभियानमा रहेको बताउँदै प्रमुख अतिथी तामाङले सहरमा बसेकाहरुलाई गाउँ आएर बस्ने वातावरण बनाउन आवश्यक रहेको उहाँको भनाई छ । साथै सुनिता फाउन्डेसनले गरेको यो कार्यले सरकारले गर्न पर्ने बेचबिखन प्रभावित पहिचान लगायत कार्यमा समेत सहयोगी भुमिका खेलेको बताउँदै त्यस्ता ब्यक्तिहरुलाई आयआर्जनमा समेत जेड्न सफल भएकोमा खुशी ब्यक्त गर्दै संस्थाको काम प्रति प्रशंसा गर्नुभयो ।
नगर पालिकाकका उप मेयर उमा प्रधानले गोपनियताका कारण बेचबिखन प्रभावितहरु पहिचान हुन नसकिरहेको बताउनुभयो । पिडितलाई पिडितकै रुपमा हेर्नपर्ने र पिडकलाई संरक्षण दिने संस्कारका कारण पिडितहरु अगाडी आउन नसकिरहेकाले गर्दा प्रभावितहरु पहिचान गर्न समस्या रहेको उहाँको भनाई छ । यसकारण नगरपालिकाले सञ्चालन गर्दै आएका बिभिन्न सिप बिकास तालिम आय आर्जनका कार्यक्रमहरु तथा रोजगार सम्बन्धी कार्यक्रमहरुमा समाबेश गर्न नसकिरहेको बताउनुभयो । साथै बिभिन्न संघ संस्थाहरुले गर्ने यस्ता कार्यक्रमहरुमा नगर सँग समन्वय नगरी एकल रुपमा गर्ने भएकोले त्यस्ता ब्यक्तिहरु पहिचान हुन नसकेकोले कार्यक्रममा समाबेश गर्न नसकेको बताउनुभयो ।
प्रभावितहरु कनुनी दायरामा आउँदा झन् समस्यामा पर्छ भन्ने सोचेर समस्या लुकाएर राख्ने गरेकोले पिडकहरु प्रोस्ताहित हुने गरेको उहाँको भनाई छ । साथै प्रभावितहरु अगाडी बढ्ने हिम्मत गरेमा हर कदममा नगरपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवारले प्रभावितहरु पनि खुलेर आउन प्रयास गरेमा अगाडि बढ्न सहज हुने धारणा राख्नुभयो । त्यस्तै संस्थाको दुई वर्षे पाइलट प्रोजेक्ट सफल भएको बताउँदै यस कार्यक्रम अझै पाँच वर्ष निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो । साथै संस्थाले गरेका कामहरुको मोनिटरिङ गर्न नगरसँग पनि समन्वय गर्ने बताउनुभयो । स्थानीय तहरुले पनि अब भौतिक बिकास मात्रै नभई सामाजिक बिकास अवको आवश्यकता रहेको उहाँले धारणा राख्नुभयो ।
अहिले संस्थाले हाम्रो समृद्धि परियोजना अन्तर्गत काम गरिरहेको बताउँछदै परियोजनाको काम र उद्देश्यको बारेमा परियोजना अधिकृत अनामिका खतिवडाले प्रस्तुतीकरण दिनुभएको थियो । सिन्धुपाल्चोकको मेलम्ची, काठमाडौंको गोकर्णेश्वर नगरपालिका, नुवाकोटको दुप्चेश्वर गाउँपालिका र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सञ्चालित उक्त परियोजनाले प्रभावितहरुलाई जिबिकोपार्जन सम्बन्धि काम समेत गर्दै आएको प्रस्तुतीकरणका क्रममा अधिकृत खतिवडाले जानकारी दिनुभयो ।
सँस्थासँग सहकार्य गरेर गर्न सकिने धेरै कामहरु रहेको बताउँदै इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले प्रहरी कार्यलयमा पेन्डिङमा रहेका १४ ओटा यस किसिमका केशहरु अहिले अध्ययन भइरहेको र जसमध्ये एउटा घटनाका दोशीलाई पक्राउ पनि गरिसकेको जानकारी दिनुभयो । अहिले स्वरुप परिवर्तन गरेर मानव बेचबिखन भइरहेको बताउँदै उहाँले पहिला चेलीबेटी बेचबिखनलाई मात्रै मानव बेचबिखन भन्ने बुझाइ रहेकोमा अहिले महिला मात्रै नभई विभिन्न बहानामा पुरुष तथा बालबालिका पनि बेचिने गरेको र त्यसमा वैदेशिक रोजगारीको बाहनामा धेरै पिडित हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । साथै अहिले अंग बेचबिखन तथा ओसारपसार पनि बढ्दो रुपमा रहेको बताउनुभयो । साथै सुनिता फाउन्डेसनले मेलम्ची मात्रै केन्द्रित नभई हेलम्बु र पाँचपोखरी लागयतका प्रभावित स्थानहरुमा पनि कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रम सञ्चालनका क्रममा संस्थाका जिल्ला अधिकृत संगिता नेपालीले स्थानीय तहहरु सँग पनि समन्वय गर्दै संस्थाको प्रावधान अनुसार कार्य गर्दै अघि बढ्ने बताउनुभयो ।