पाँचपोखरी
पाँचपोपरी थाङपाल गाउँपालिका ६ लेर्खकबासीले विगतदेखि झेल्दै आएका पिउने पानीको समस्या समाधान भएको छ । गाउँपालिका र आर्सो नेपालको सहयोग र समन्वयमा लेखर्क बहादुर टोलका २२ घर परिवारलाई एक घर एक धाराको सुविधा उपलब्ध गराइएको हो ।
पछिल्लो समय स्थानीय सरकारले एक घर एक धाराको नीति लिएअनुसार जिल्लाका अन्य थुप्रै घरहरूमा एक घर एक धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् । करिब ३ किलोमिटर टाढादेखि पाइप लाइन बिस्तार गरि १० हजार लिटरको रिजभ ट्याङ्कीसहित १ घर १ धारा खानेपानी योजना हस्तान्तरण गरिएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
त्यस्तै वडा न ५ गुन्सा वाइबा टोल खानेपानी आयोजनाबाट पनि ४४ घरधुरी लाभान्वित भएका छन् । एक घर एक धारा मिटर सहित निर्माण सम्पन्न गरि समुदायलाई हस्तान्तरण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लामा, उपाध्यक्ष सुनिता अधिकारी वडा नम्बर ५का वडा अध्यक्ष काले गोले लगायतले गुन्सा वाइबा टोलवासीलाई आज आयोजना हस्तान्तरण गरिएको गाउँपालिकाका कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो ।
आगामी २ वर्षभित्र पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्रका सबै वडाका बस्ती बस्तीमा एक घर एक धारा बनाउने लक्ष्य गाउँपालिका लिएअनुरूप खानेपानीको धारा निर्माण र हस्तान्तरणको धमाधम चलिरहेको अध्यक्ष लामाले बताउनुभयो ।