पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ खाल्डेखोला नजिकै उत्तिस घारीमा अवरुद्ध सडक सञ्चालनमा आएको छ । विशेषगरी बर्खाको समयमा दैनिकजसो जाने यस पहिरोका कारण पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुले बर्षेनी सास्ती खेप्न परिरहेको थियो ।

मेलम्ची तिपेनी मुख्य सडक खाल्डे उत्तिसघारीमा मर्मतको काम भइरहेका बेला खाल्डे,लाँगर्चे हुँदै तिपेनी निस्कने बैकल्पिक सडक सञ्चलानमा ल्याएपनि सवारी दुर्घटना बढेसँगै गाउँपालिकाले पहिरो वारी र पारी गरि दुईतर्फि सवारी सञ्चालन गरेको थियो । अघिल्लो बर्षहरुमा पहिरो रोकथामका लागि गाउँपालिकाले अथक प्रयार गरेपनि बजेट अभावका कारण पक्कि संरचना निमार्ण गर्न नसक्दा बर्षेनी समस्या हुने गरेको थियो ।

अहिले गाउँपालिकाले ४० लाख बजेट विनियोजन गरि उपभोक्ता समिति मार्फत पक्कि रुपमा समस्याको दिगो रुपमा समाधन गर्ने उद्धेश्यले काम भइरहेको छ । अब बाह्रै महिना सहजै आवतजावत गर्नका पालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

पालिकाको आन्तरिक बजेट अत्यन्तै न्युन रहेको कारण गाउँपालिकाले सोचे अनुसार जनताको अपेक्षा पुरा गर्न नसकेको अध्यक्ष लामाले बताउनुभयो । अब अवरुद्ध सडक सञ्चालनमा आएसँगै गाउँपालिका बासीको मुख्य समस्याको रुपमा रहेको उत्तिसघारी सडक समस्या समाधान भएको लामाको भनाई छ । बजेट नहुँदा पनि अथक प्रयासबाट तत्काललाई सडक खोलिएपनि बाँकि काम क्रमश हुने लामाले बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,स्थानीय उपभोक्ता हरुको अथक प्रयास पछि बाटो संचालनमा आएको भन्दै अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयो ।
