रबिन दनुवार, भिमटार ।
इन्द्रावती गाउपालिका वडा नम्बर १२ भिमटारमा रहेको भिमेश्वरी माध्यमिक विद्यालयले मंगलबार आफ्नो ६१ ओेै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद माननीय मोहन बहादुर बस्नेतले स्थानीय सरकारसँग समन्वय गरि बिद्यालयमा प्रविधिक शिक्षाको निम्ति पहल गर्ने बताउनुभयो ।
बस्नेतले विगतमा वंशलाल तामाङको नेतृत्वको स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरेको कार्यलाई प्रशंसा गर्दै बर्तमान सरकारले पनि रचनात्मक कामगर्ने अपेक्षा रहेको बताउनुभयो ।
विद्यालयको आगनमा धुलो धेरै उड्ने भएकोले समाधानका लागि बजेट बिनियोजन गरि आगनमा ढुंगा छापिदिने प्रतिबद्धता समेत जनाउनुभयो।
बिगतमा आफुले कोभिडको बेला र बाढी पहिरोको समयमा जिल्लाका विभिन्न स्थानमा गरेको योगदान स्मरण गराउदै शिक्षाको निम्ति पनि आफू निरन्तर लागि परि रहने बस्नेतले बताउनुभयो ।
भिमेश्वरी माविका शिक्षक अभिभावक संघका अध्यक्ष प्रमोद न्यौपानेले विद्यालयको माध्यमिक तहको शिक्षक दरबन्दी एउटा मात्रै रहेको जानकारी गराउदै थप दरबन्दीको आवश्यकता रहेको बताउनुभयो ।
न्यौपानेले पछिल्लो समय बिद्यार्थीको शिक्षा प्रतिको चासो घट्दै गएको भन्दै अभिभावकहरुले आफ्नो बालबच्चाहरुको शिक्षाको लागि अलि बढि चासो दिनुपर्ने रहेको बताउनुभयो ।
बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
जनप्रतिनिधिहरु बाट सिमान्तकृत दनुवार , माझीहरुको आत्मसम्मान, बिकास, परिवर्तन र शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आ- आफ्नो ठाउँबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा रहेको श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव एवम् निवर्तमान इन्द्रावती गाउपालिका अध्यक्ष बंशलाल तामाङले बिद्यालयहरुमा विशेषगरी प्राविधिक शैक्षिक गुणस्तरमा जोड दिनु पर्ने बताउनुभयो ।
प्राविधिक शिक्षा जीवन उपयोगी व्यावहारिक शिक्षा रहेकोले प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको आवश्यकता रहेको तामाङले बताउनुभयो ।
बर्तमान संविधानले माध्यमिक तहसम्मको विद्यालय संचालन तथा व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेको स्मरण गराउदै पालिका प्रमुखको अनुपस्थित गैरजिम्मेवार भएको भन्दै तामाङले खेद प्रकट गर्नुभयो ।
स्थानिय सरकारले पालिका मातहतका विद्यालयहरुको गतिविधि बारे जिम्मेवारी पुर्वक चासो लिनुपर्नेमा तामाङले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद माननीय मोहन बस्नेत , गाउपालिका महासंघका निवर्तमान महासचिव एवं निवर्तमान इन्द्रावती गाउपालिका अध्यक्ष वंशलाल तामाङ गाउकार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि शिक्षक, अविभावक, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरुको बाक्लो उपस्थित रहेको थियोे।